काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने समयमा अन्योल देखिएको छ । अन्तिम पटक थप भएको समय पनि निर्माण सम्पन्न नहुँदै सकिएको हो।
सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने भन्दै २०२० को डिसेम्बरसम्मको समय थप गरेको थियो।
तर, तोकिएको समयमा पनि चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले प्राविधिक दक्ष जनशक्ति नेपाल ल्याएर उपकरण जडानको काम नगर्दा थप समयमा पनि काम सम्पन्न हुन नसकेको बताइएको छ ।
निर्माण कम्पनीले कोरोनाको कारण देखाउँदै प्राविधिक दक्ष कामदार ल्याउन नसक्दा टर्मिनल भवनको उकरण जडान र एसी जडानको काम हुन नसकेको जनाएको छ ।
पछिल्लो पटक कम्पनीले नेपाल आइपुगेका कामदारमा कोरोना देखिएको र उनीहरु विमानस्थलको क्वारेन्टाइनमा रहेको भन्दै आएको छ। सोहीकारण विमानस्थल निर्माणमा ढिलासुस्ती भएको बताइएको छ।
यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न हुनु पर्ने थियो।
उक्त समय सीमा पनि सकिएको छ। अब पुनः समय थप गर्नु पर्ने अवस्था आएको छ। यो आयोजनाको कूल लागत ३० अर्बभन्दा बढी भइसकेको छ।
प्रतिक्रिया