पुनः निर्माणमा नै अल्झियो गोरखा दरबार

शुक्रबार, १७ पुस २०७७, १५ : ४७

गोरखा- गोरखा भूकम्पले क्षति पु¥याएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारको पुनःनिर्माणको काम शुरु भएको तीन वर्ष पूरा भइसक्यो । 

राष्ट्रिय पुरातत्व विभागले गएको वि.सं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेर दरबार पुनःनिर्माणको काम अघि बढाएको थियो तर निर्धारित समयमा दरबारको पुनःनिर्माण पूरा हुन सकेन । 

पुरातत्व विभागले पुनः २०७७ को जेठभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीलाई पहिलो पटक म्याद थप गरिदियो तर पनि काम सम्पन्न गरेन । फेरि गएको मङ्सिर मसान्तसम्म अन्तिम पटक भन्दै म्याद थप भए पनि अझैसम्म दरबार पुनःनिर्माणको काम लगभग आधा जसो बाँकी नै छ । 

दरबारको पहिलो तल्लामा गारो लगाउने काम सकिएको र अहिले दलान राख्ने काम भइरहेको छ । “यही गतिमा दरबार पुनःनिर्माण हुने हो भने अझै कहिले दरबार निर्माणको काम सम्पन्न हुन्छ भन्ने यकिन छैन”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले भने, “पुनःनिर्माणको गति अत्यन्तै सुस्त छ, पटकपटक म्याद थप गरी गएको मङ्सिरभित्र निर्माण सम्पन्न हुनुपर्ने दरबार अझै निर्माण हुन सकेको छैन ।” ठेकेदार कम्पनीसँग पुरातत्व विभागले थप गरेको अन्तिम पटकको समयसीमा भने सकिएको छ । अहिलेसम्म दरबारको जगदेखि भूइँतलासम्मको काम सम्पन्न गरी पहिलो तलाको काम अन्तिम चरणमा पुगेको उनी बताउँछन् । 
 
“पहिलो तलामा पाखादलिन, टुँडालहरु राख्ने काम भइरहेको छ”, प्रमुख भुसाल भन्छन्, “दोस्रो तलाको पूरै काम बाँकी छ, त्यसपछि दरबारको बरण्डा, झ्यालहरु तथा छाना राखेर छानामा झिंगटी राख्ने काम हुन्छ ।” उनका अनुसार अन्यत्र भएका कामको अनुभवका आधारमा हेर्दा अझै पनि ठेकेदार कम्पनीले नियमित आवश्यक जनशक्तिको प्रयोग गरी काम गरे पनि अझै आउने तीन÷चार महिनाअघि दरबार पुनःनिर्माण सम्पन्न हुनसक्ने अवस्था छैन । 

“थपिएको म्याद सकिएपछि पुनःम्याद थप गर्ने वा ठेकेदार कम्पनीलाई कारवाही गरेर अघि बढ्ने भन्नेमा पनि कुनै निर्णय भएको छैन”, उनले बताए, “अन्तिम पटक भनिएको समय सकिएको छ अहिले काम भने नियमित भइरहेको छ ।” 

भुसालका अनुसार तीन वर्षमा दरबार पुनःनिर्माणको काम करिब ६५ प्रतिशत मात्र सकिएको छ । “पुरातत्व विभागले दरबार नभत्काउँदै गरेको पुनःनिर्माणको डिजाइन र भत्काइसकेपछि संरचना हेरेर डिजाइन परिवर्तन गर्नुपर्दा छ महिना जति ढिलाइ भयो”, उनले भने, “त्यसपछिका दिनमा ठेकेदार कम्पनीले आफूले लिएको जिम्मेवारीप्रति उदासिनता देखाएका कारणले नै पुनःनिर्माण कार्य ढिलासुस्ती हुँदै गएको हो ।” अब म्याद थप हुने नहुने भन्न सक्ने अवस्था नरहेको भुसालले बताए । 

दरबार नबन्दा नियमित पूजामा समेत कठिनाइ  
दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा मन्दिरमा नियमित नित्य पूजामा समेत कठिनाइ भएको मन्दिरका पुजारीहरु बताउँछन् । “विभिन्न कारण देखाएर दरबार निर्माण समयमा नहुँदा मन्दिरसम्म सजिलै भक्तजन आउनसक्ने अवस्थासमेत छैन, कालिका मन्दिरका पुजारी शम्भु अर्यालले भने, “भक्तजनको गुनासो आफूहरुले सुन्नुपरेको छ, तर दिने जवाफ केही हुँदैन ।” 

यसअघि मन्दिरमा आउने भक्तजनहरुले परिसरमा बस्ने, रातबसेर समेत पूजाआजा गर्ने गरेको भए पनि अहिले दरबार पुनःनिर्माण नहुँदा त्यो अवस्था नरहेको पुजारी अर्यालले बताए । 

समयमा पुनःनिर्माण नहुँदा नकारात्मक सन्देश गइरहेको छ, उहाँले भन्नुभयो, ‘‘सकेसम्म छिटो निर्माण गर्न पहल गर्नुपर्छ, अब सबैले चासो दिनु आवश्यक छ ।’’ भूकम्प गएको यति लामो समयसम्म पनि किन दरबार निर्माण नभएको भनेर भक्तजन तथा पर्यटकहरुले प्रश्न सोध्ने गरेको पुजारी अर्याल बताउँछन् । 

ठेकेदारको लापरवाहीले ढिला भएको स्थानीयको आरोप  
यता स्थानीवासीले भने ठेकेदारको लापरवाहीले गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ भएको बताउछन् । यो ठेकदारको लापरवाही हो, गोरखा नगरपालिका वडा नं ६ का स्थानीयवासी मिलन लामाले भने, “जति समयमा काम गर्छु भनेर सम्झौता ग¥यो त्यो नगरेको देखिन्छ, गरेको काम पनि त्यति राम्रो भएको देखिँदैन”, उनहाँले पुराना काठ प्रयोग गर्ने भनिए पनि बिग्रेका सडेका काठकोसमेत प्रयोग भएको बताए । 

उनले दरबार पुनःनिर्माणका क्रममा अनुगमन गर्ने निकायले नियमित चासो दिन नसक्दा पनि पुनःनिर्माणमा ढिलाइ भएको हुनसक्ने बताउँछन्। उनले पुनःनिर्माणमा ढिलाइ हुँदा दरबारको अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत कमी आउन थालेको बताए । 

त्यस्तै मन्दिरमा पूजा सामग्री बिक्री गरेर जीविकोपार्जन गर्दै आएका साना व्यवसायीसमेत विस्थापित हुनुपर्ने अवस्था पुगेको लामाको भनाइ छ । 

“भूकम्प गएको यत्तिका समय भइसक्यो, अहिलेसम्म पनि निर्माण हुन सकेको छैन, स्थानीयवासी शर्मिला योगीले भने, “दरबार पुनःनिर्माण नहुँदा यहाँ आउने भक्तजन घटे, दरबार वरपर सयौँ परिवार यही दरबारको भरमा चलेको रहेछ भन्ने अनुभूति अहिले भएको छ ।” भक्तजन आउँदा स्थानीयको व्यापार व्यवसाय राम्रो हुने गरेको भए पनि अहिले व्यवसाय ठप्प जस्तै भएको उनले बताए ।

शुक्रबार, १७ पुस २०७७, १५ : ४७

प्रतिक्रिया