ढल्केबर सब–स्टेशनको क्षमता बढ्यो, एक सय मेगावाट विद्युत् आयात गर्न सकिने

सोमबार, २० पुस २०७७, १७ : १८

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले धनुषाको ढल्केबर सब–स्टेशनको क्षमता बढाएको छ । देशकै सबैभन्दा ठूलो सब–स्टेशन ढल्केबरमा ३ सय १५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर थप गरिएको प्राधिकरणले जनाएको छ । 
 
थपिएको ट्रान्सफर्मर आइतबार राति १२ बजे चार्ज गरिएको पनि बताइएको छ । ढल्केबर सब–स्टेशनमा रहेका दुई वटा ट्रान्सफर्मरको क्षमता ३ सय २० एमभीए रहेकोमा अब सब–स्टेशनको क्षमता ६ सय ३५ एमभीए पुगेको छ । 

ग्रिड सब–स्टेशन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३ सय १५ एमभीएका दुई वटा ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरिएको हो । बाँकी एउटा ट्रान्सफर्मरको जडान भइरहेको छ । 

प्राधिकरण प्रसारणका अनुसार अब आवश्यक परेमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप झण्डै एक सय मेगावाट विद्युत् आयात गर्न सकिने छ ।

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४ सय केभीमा चार्ज भइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि ४ सय केभी र २ सय २० केभीको संरचना तयार भइनसकेकाले ४ सय केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १ सय ३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ । 

हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारण लाइन १ सय ३२ केभीमा मात्रै सञ्चालनमा छ । खिम्ती–ढल्केबरलाई २ सय २० केभीमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ । 

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पुर्‍याइने छ । 

सोमबार, २० पुस २०७७, १७ : १८

प्रतिक्रिया