काठमाडौं- पछिल्लो समय नेपालको पहिलो निर्यात योग्य बस्तु बनेको प्रशोधित सोयाबिन तेलको निर्यात बढ्दै गएको छ । मङ्सिरसम्म आउँदा यस्तो तेलको निर्यात ९ करोड ३५ लाख ५४ हजार ३२६ केजी पुगेको छ ।
भन्सार विभाग मङ्सिरसम्मको तथ्यांकले यस्तो देखाएको हो । मङ्सिरसम्म १३ अर्ब ५० करोड ५ लाख ६० हजार ४ रुपैयाँ बराबरको यस्तो तेल निर्यात भएको छ ।
नेपालबाट निर्यात हुने वस्तुमध्ये अहिले सोयाबिन तेलले शीर्षस्थान ओगटेको छ । भन्सार सुविधा पाएकाले नेपालका व्यवसायीहरूले विदेशबाट सोयाबिन तेलको कच्चा पदार्थ ल्याएर प्रशोधन गरि भारत तर्फ निर्यात गर्दै आएका छन् । फलस्वरुप पछिल्लो समय यसको निर्यात बढेको व्यवसायीहरू बताउँछन् । हाल भारतमा मात्र यस्तो तेल निर्यात हुदैं आएको छ ।
यस्तै, तथ्यांक अनुसार मङ्सिरसम्ममा विभिन्न देशहरूमा ७ लाख ३१ हजार बराबरको ५ हजार ४ सय ६० लिटर कच्चा सोयाबिन तेल निर्यात भएको छ ।
गत आवमा नेपालबाट निर्यात हुने वस्तुमध्ये शीर्षस्थानमा प्रशोधित पाम तेल रहेको थियो । तर, भारतले गत बैशाखदेखि आफ्नो मुलुकमा पाम तेलको आयातमा प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि नेपालमा पाम आयलको उत्पादन गर्दै आएका व्यवसायीले सोयाबिन तेलको उत्पादन बढाउन थालेका थिए, त्यसको असरले पनि निर्यात बढेको हो । अहिले नेपालको कुल निर्यातमा सोयाबिन तेलको हिस्सा करिब २५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया