अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा

३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पु¥याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज ‘नागरिक एप्स’को शुभारम्भका क्रममा उनले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त एप्स महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

“नागरिक एप्स आम नागरिकको सेवालाई सरल, सहज र छिटोछरितो बनाइ लाइनबाट नभई अनलाइनबाट सेवा प्रदान गर्ने महत्वपूर्ण प्रयास हो”, मन्त्री गुरुङले भने, “सरकारी सेवा र सूचना हातहातमा कसरी पु¥याउन सकिन्छ, सबै कागजपत्रलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्नेमा सरकार गम्भिर छ र त्यसैअनुसार एप्स ल्याइएको हो ।”

मन्त्री गुरुङले सरकारले तीन वर्षको लामो अध्ययनपछि एप्स ल्याएको र यो राष्ट्रिय गौरवको कार्यक्रमसमेत भएको बताए। नागरिकबाट प्राप्त सुझावका आधारमा अझै परिमार्जन गर्दै लगिने उनले जनाए। अझै पारदर्शी बनाइ कम खर्चिलो र झन्झटबाट मुक्त पारी सबै सेवा दिने सरकारको चाहना रहेको जानकारी गराउँदै मन्त्री गुरुङले थपे, “नागरिकका निम्ति सरकारी सेवा चौविसै घण्टा र विदाका दिनमा समेत प्राप्त गर्न सकोस् र नागरिकको सेवा सुदृढ एवं व्यवस्थित गर्न सकोस् भन्नेमा सरकार गम्भिर छ ।”

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जनताको हातहातमा सरकारी सेवा पु¥याउनका लागि सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पुरा गर्न एप्स कोसेढुङ्गा सावित हुने उल्लेख गरे। उनले अहिले परीक्षणका रुपमा आएको उक्त एप्समार्फत नौ वटा कार्यक्रम सञ्चालन हुने जानकारी दिए । उनले एप्समार्फत न्यूनतम् समयमा छिटो र छरितो रुपमा प्रभावकारी सेवा पु¥याउने विश्वास व्यक्त गरे।

सरकारले जनतालाई सार्वजनिक सेवा प्रदान गर्दा डिजिटलाइज समाजको सिर्जना गर्ने उद्देश्यले सरकारले डिजिटल नेपाल कार्यक्रम शुरु गरेको र त्यसैको एक महत्वपूर्ण कार्यक्रम नागरिक एप्स मार्फत सार्वजनिक सेवा प्रदान गर्न लागिएको हो । शुसासन, समृद्ध र विकासको नाराका साथ डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमअन्तरगत यसले कार्यक्रम गर्नेछ । उक्त कार्यक्रम सरकारको स्मार्ट नागरिक बनाउने उद्देश्यले निर्देशित रहेको सचिव बस्यालको भनाइ थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया