संघीय सरकारले पठाएको ५ अर्ब ४० करोड बढी बजेट मध्ये २१ प्रतिशत मात्र खर्च

३ बर्ष अगाडि

काठमाडौँ ।  चितवन जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा विकासका लागि आएको बजेटको २१ दशमलब ५२ प्रतिशत मात्र खर्च भएको हो । 
 
जिल्लाको विकासका लागि संघीय सरकारले पठाएको रु ५ अर्ब ४० करोड २२ लाख ७७ हजार मध्ये ६ महिनामा रु १ अर्ब १६ करोड २८ लाख ७१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र शर्मा भट्टराईले जानकारी दिए। 
 
उनका अनुसार प्रदेश सरकारबाट बिनियोजित बजेट मध्ये विकास निर्माणका लागि निकासा भएको रकमको २० दशमलब ५५ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश सरकारले विकासका लागि बिनियोजन गरेको बजेट रु १ अर्ब ४८ करोड ८५ लाख १६ हजार मध्ये रु ३० करोड ५९ लाख २७ हजार मात्र खर्च भएको हो ।  कोरोना कहरका कारण विकास निर्माणमा केही ढिलाई भएको उनले बताए । अहिलेको समय बोलपत्र आव्हान गर्ने र सम्झौता गर्ने समय भएकाले पनि पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताइएको छ । 
 
कार्यालयका अनुसार जिल्लाबाट संघीय सरकारका लागि रु ७ अर्ब ८६ करोड ३७ लाख ९६ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारका लागि रु ४९ करोड ९३ लाख २६ हजार राजस्व संकलन भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया