ठगि धन्दाबाटै काठमाडौंमा साढे छ करोडको घर, शेष घलेको भाइ भन्दै ठग्दै

मंगलबार, १३ माघ २०७७, १९ : ०९

विभिन्न प्रलोभनमा मानिसहरुलाई ठग्दै हिँडेका एक हरिकंगालले विदेशी नागरिकलाई छक्याएर ६ करोड ५० लाखको घर किनेका छन् । 

झण्डै एक दशकदेखि ठगी धन्दा चलाउँदै आएका लमजुङ,घनपोखराका गमबहादुर लामिछानेले  विदेशी दम्पत्तीलाई झुक्याएर गोंगबु ५ को टोखा रोडमा घर किनेका हुन् ।  

नेपालमा लगानी गरेर व्यवसाय गर्ने योजना बनाएको विदेशी दम्पतिलाई उनले आफूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा अष्ट्रेलिया निवासी खर्बपति नेपाली व्यवसायी शेष घलेको भाइ भन्दै उनले ठगी गरेका हुन् । 

उनको सम्पर्कमा पुगेका विदेशीलाई उनले विदेशीले नेपालमा सोझै लगानी गर्न नपाउने भन्दै आफ्नो नाममा टिएनयु इन्टरनेशनल नामको कम्पनी खडा गरेका थिए । 

त्यसपछि उनीहरुले लगानी गर्न खोजेको रकमबाट सामाखुशी चोकबाट ग्राण्डी हस्पिटल जाने टोखा रोडमा छ करोड पचास लाख रुपैयाँ तराएर आफ्नो नाममा घर पास गरेका थिए । उनले विदेशी नागरिकले अचल सम्पत्ति खरिद गर्न नपाउने भन्दै एक हप्ताभित्र उनीरुलाई पास गरिदिने आश्वासन देखाएर घर आफ्नै नाममा पास गरेका हुन् ।  एक हप्ताभित्र पास गरिदिन्छु भनेर अर्को कागज बनाएपनि  दुई वर्ष बितिसक्दा समेत घर पास नभएपछि विदेशी नागरिक रुनु न हाँस्नु भएका छन् । 

लामिछानेले सो घर धितो राखेर सेन्ट्रल फाइनान्स, कुपण्डोलबाट २ करोड भन्दा धेरै ऋण समेत लिएका छन् ।  नटबरलाल लामिछानेले ऋण लिएको सबै रकम मोजमस्तीमा खर्च गरेर सकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

त्यो मात्र उनको ठगीको घटना होइन । उनले सहकारीबाट लाखौंको ऋण निकाल्ने र नतिर्ने, धेरै बैंकमा शून्य मौज्दातमा खाता खोल्ने र ऋण तिर्नुपर्ने साहुलाई रित्तो खाताको चेक दिने पनि गरेका छन् । उनको ठीले  हैरान भएर बैंकहरुले कर्जा सूचना केन्द्र, राष्ट्र बैंक र प्रहरीसम्म दिनहुँ उजुरी गर्ने गरेका छन् । 

उनले कहिले आफू राजाको निकटको मान्छे, कहिले न्यायधीशको नजिकको भन्दै ठग्दै आएको भन्दै प्रहरीमा पनि उजुरीका चाङ छन् । उनले एकजना न्यायधीशको श्रीमतिसँग समेत दशौँ लाख ठगेको जनआस्थाले लेखेको छ । उनले ठगी गर्नका लागि बैंक र मालपोतका कर्मचारीलाई बिदेशबाट ल्याएको भन्दै गिफ्ट किनेर पु¥याउने समेत गरेको खुलेको छ ।  पछिल्लो पटक उनले पत्रकारलाईसमेत पाल्ने गरेको छु भन्दै आफ्नो पैसा माग्नेहरुलाई तर्साउने गरेका छन् । 

उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत परेका व्यक्ति भएपनि बैंकहरुले धमाधम उनीसँग कारोबार गर्नु रहस्यको विषय छ ।  

उनले धेरैजसो कारोबार आफू नफस्ने तरिकाले गर्ने र अरुलाई फसाउनले गरेका छन । त्यसको उदाहरण हो शैलुुङेश्वर प्रगतिशील बचत तथा ऋण सहकारी, क्षेत्रपाटीको नाममा किनेको गाडी । प्रदेश ३ ०१ ०२२ च ०९६६ नम्बरको गाडी सहकारीको नाममा किनाएर उनले प्रयोग गर्दै हिँडेका छन् । सहकारीले पैसा उठाउन नसकेपछि सहकारीको नामको गाडी फिर्ता नगरेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ । 


यी सबै कर्तुतको लागि उनले पटक पटक नयाँ नागरिकताको प्रयोग गरेको देखिन आएको छ । उनी गतवर्ष जेल परेर समेत छुटेको प्रहरीले जनाएको छ । 

मंगलबार, १३ माघ २०७७, १९ : ०९

प्रतिक्रिया