जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए ।
सो आगलागी भएका घरबाट करीब ६४ वटा पशुचौपाया जलेर मृत्यु भएको वडाअध्यक्ष हस्त बुढाले बताए । सुधारिएको चुलोेको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको वडाध्यक्ष बुढाले बताए । आगलागी भएको गाउँमा अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीवासीले आगो नियन्त्रणमा लिएको वडाध्यक्ष बुढाले बताए ।
आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करीब चार घण्टा लाग्छ । काठैकाठका घर बढी भएकाले आगलागी बढेको सो गाउँका स्थानीयवासी बताउँछन् । मानवीय क्षति भने भएको छैन । राहतको लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँग समन्वय भई प्रदेशबाट केही राहतका सामग्री ल्याएर आउने तयारी रहेको गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए ।
यता राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।
राष्ट्रपतिले आज अपराह्न ट्विटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनस्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् ।
प्रतिक्रिया