आगो लगाई हत्या गरेको अभियोगमा  ६ जना पक्राउ

बुधबार, १४ माघ २०७७, १७ : ५०

गतहप्ता  रुपन्देहीको मर्चवारमा एक युवकलाई आगो लगाई हत्या गरेको अभियोगमा  ६ जना पक्राउ परेका छन् ।  माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै शव भेटिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले राजेन्द्र यादवका भाई, काका र काकाको सम्धिले सम्पत्तिका लागि हत्या गरेको आरोप लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले सम्पत्तिका लागि घटना भएको अनुसन्धानबाट पुष्टि भएको बताए । प्रहरीले बुधबार मुख्य योजनाकार सियारी २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकका भाई वीरेन्द्र यादव, काकाका सम्धि सन्तकुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई सार्वजनिक गरेको छ ।

अपराधमा संलग्न मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन् । माघ ६ गते राजेन्द्रको शव जलेको अवस्थामा  भेटिएको थियो । शवको तत्काल सनाखत नभएपछि प्रहरीले नेपालगञ्जबाट कुकुर झिकाएर अनुसन्धान गरेको थियो । निकै ढिला सनाखत भएपछि प्रहरीले थप अनुसन्धान गरि हत्याको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।
 
 

बुधबार, १४ माघ २०७७, १७ : ५०

प्रतिक्रिया