कृषि गणनाको तयारी

बुधबार, १४ माघ २०७७, १८ : ०८

तथ्याङ्क कार्यालय चितवनले जिल्लामा हुने कृषि गणनाका लागि तयारी शुरु गरेको छ । राष्ट्रिय जनगणना सकिएलगत्तै कृषि गणना गरिँदै छ । कार्यालयले आज यहाँ आयोजना गरेको सचेतना गोष्ठी कार्यक्रममा राष्ट्रिय कृषि गणनाका विषयमा जानकारी गराइएको थियो । 

कृषि गणनामा जिल्लामा रहेका आठ धुरभन्दा बढी क्षेत्रफलमा कृषि पेशा गरेकालाई समावेश गरिने छ । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार कृषि गणनाका क्रममा पालिकास्तरबाटै काम गरी गणना गरिने छ । यस गणनाबाट कति क्षेत्रफलमा कृषि कर्म गरिन्छ, कसरी गरिन्छ र के कस्ता खेती गरिन्छ भन्ने विषयमा वास्तविक तथ्याङ्क लिइने छ । गणक आफैँ घरदैलोमा पुगेर गर्ने कृषि गणनामा एक वा एकभन्दा बढी गाईबस्तु, पाँच वा पाँचभन्दा बढी भेडाबाख्रा, २० वा २० भन्दा बढी पंक्षी पालेर आफ्नो जीविको पार्जन गर्दै आएका किसानको सङ्ख्या लिइने छ ।
 
प्रमुख भण्डारीका अनुसार चितवनमा विसं २०७८ पुसदेखि फागुन सम्म गणना गरिने छ । पहाडी क्षेत्रमा विसं २०७९ सालको वैशाखदेखि असारसम्म गरिने छ । गणनामा जिल्लाको प्रमुख उत्पादन के कति, सिँचाइयोग्य क्षेत्रफल कति, अस्थायी र स्थायी बाली के कति, भाडामा कति क्षेत्रफलमा कृषि गरिन्छलगायतका विषयबस्तु समेटिने उहाँले जानकारी दिए । गणनाका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति रहेको र सोही समितिले पूर्वतयारीका काम गरिरहेको भण्डारीले बताए  । राष्ट्रिय जनगणना सकिएको छ महिनापछि  कृषि गणना शुरु हुनेछ । जनगणनाका समयमा सात स्थानीय तहमा राखिएका कार्यालयलाई नै प्रयोग गरी गणना गरिने कार्यक्रममा जानकारी दिइयो । कूल गार्हस्थ उत्पादनमा २७ प्रतिशत योगदान दिने कृषि क्षेत्रलाई यो गणनाले आधुनिकीकरण गर्नका लागि टेवा पुग्ने विश्वास लिइएको प्रमुख भण्डारीको भनाइ छ ।
 
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले कृषि गणनाले कृषि क्षेत्रमा भएको लगानी वास्तविकता ल्याउने हुँदा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले भने, “कृषि प्रधान देशमा कृषि गणनाको महत्व भिन्न हुनु आवश्यक छ ।”
 
सो अवसरमा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा, कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल, पत्रकार सिर्जना अर्याल, रमेशकुमार पौडेललगायतले बोलेका थिए  । 
 

बुधबार, १४ माघ २०७७, १८ : ०८

प्रतिक्रिया