मंगलबार साँझ साढे ५ बजेतिर जुम्लाको तिला गाउँपालिकाको गोठी बस्तीमा आगलागी भयो । बस्तीमा आगो लाग्दा ३२ घर जलेर नष्ट भएका छन् भने थुपै चौपाया मर्नुका साथै करोडौँको क्षति भएको छ ।
आगोले अन्नतपात, लुगाफाटो लगायत सबै क्षति हुँदा नागरिकहरु बिचल्लीमा परे । स्थानीय सरकारले राहत वितरण र व्यवस्थापनमा केही सहयोग गरे पनि प्रदेश सरकारले पनि दुई दिनसम्म पीडित बस्तीमा आफ्नो उपस्थिति नै जनाउन सकेन ।
आगलागी भएको करिब ४० घण्टापछि अर्थात् बिहीबार बिहानमात्र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसहितको टोली केही राहत बोकेर प्रभावित क्षेत्र पुगेको हो ।
मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया र दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल बोहोरा पनि गोठी गाउँमा बिहीबार बिहान पुगेको बताईएको छ ।
ओढ्ने ओछ्याउने, कपडा, पाल, भाँडा, दाल, चामल, नुन तेललगायतका सामग्रीसहित टोली पुगेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार कठोर जाडोको समय र समुद्री सतहदेखि करिब तीनहजार मिटर उचाइमा पर्ने गोठी गाउँबासीका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी तथा बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको छ । आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका छन् ।
विपत् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगे पनि विकट भूगोल र सुक्खा क्षेत्र भई पानीको अभाव हुँदा बस्ती पूर्णरूपले खरानी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ३ करोडभन्दा बढीको क्षति भएको बताईएको छ ।
प्रतिक्रिया