बढ्यो पेट्रोलियम पदार्थको चोरी, अब सय लिटरभन्दा बढी तेल भर्न नदिने

शुक्रबार, ०७ फागुन २०७७, १६ : १०

काठमाडौं - नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न आफ्ना सबै प्रादेशिक कार्यालयहरुलाई परिपत्र गरेको छ । पछिल्लो समय सीमा, नाका क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढेको भन्दै निगमले यस्तो निर्देशन गरेको हो ।

बिहीबार निगमको केन्द्रिय कार्यालय काठमाडौंमा बसेको बैठकले सीमा क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरुमा कडाइ गर्नुका साथै त्यस्ता पम्पहरुको खरिद बिक्रीको तथ्याङ्क राख्न र त्यस्ता पम्पहरुमाथि बारम्बार निगरानी राख्न समेत प्रादेशिक कार्यालयहरुलाई निर्देशन गरेको छ ।

प्रादेशिक कार्यालयहरुले आफु मातहतमा पर्ने सीमा क्षेत्रका पेट्रोल पम्पहरु मध्य दैनिक न्यूनतम ५ वटा पम्पहरुको निरीक्षण गरि आवश्यक विवरणहरु लिनुपर्ने, दैनिक औसत बिक्रीको परिणाम लिनुपर्ने, बिक्रीवितरणको विवरणसहितको बिल राख्नु पर्ने लगायतको व्यवस्था निमगले गरेको छ ।

त्यस्तै, यता विक्रेता पम्पहरु पनि आफ्नो दैनिक बिक्रीवितरणको यथार्थ विवरण राखि अनुगमन कार्यालयहरुलाई उपलब्ध गराउनु पर्ने र सवारी साधान बाहेक, ड्रम, जर्किन, ग्यालिन तथा अन्य उपकरणहरुमा पेट्रोलियम पदार्थ बिक्रीवितरण पूर्णतः बन्देज लगाउनु पर्ने निगमले निर्देशन गरेको छ ।

यस्तोमा भारततर्फ जाने ठूलठूला सवारी साधन बस, ट्रक तथा ट्याङकरहरुलाई समेत अधिकतम एक सय लिटर भन्दा बढी तेल भर्न नदिन पम्पहरुलाई निर्देशन गरेको छ ।

साथै यसो गर्दा समेत चोरी निकासी हुन सक्ने भन्दै निगमले सीमा क्षेत्रमा चेकजाँचलाई समेत कडाई गरिने जनाएको छ ।

शुक्रबार, ०७ फागुन २०७७, १६ : १०

प्रतिक्रिया