७ महिनामा भारतसँग ४ खर्ब ८२ अर्ब बढिको व्यापार घाटा, कुन देश सँग कति ?

शनिबार, ०८ फागुन २०७७, १७ : १८

काठमाडौं - चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालले ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख १२ हजार रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार सबभन्दा धेरै घाटा भारतसँग भएको छ । भारतबाट चालु आर्थिक वर्षको समीक्षा अवधिमा ५ खर्ब ३१ अर्ब ९५ करोड २३ लाख रुपैयाँको सामग्री नेपाल आएको छ । 

तर भारततर्फ ४९ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ बराबरको मात्र सामग्री निर्यात भएको छ । यस हिसाबले भारतसँग ४ खर्ब ८२ अर्ब १ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

भारतपछि चीनसँग १ खर्ब १५ अर्ब ५६ करोड ३८ लाख ८८ हजार रुपैयाँको व्यापार घाटा रहेको छ । चीनबाट १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँको सामान आउँदा नेपालबाट ५५ करोड ७१ लाख ७४ हजार रुपैयाँबराबरको मात्र सामान निर्यात भएको छ ।

व्यापार घाटा हुने तेस्रो स्थानमा रहेको मुलुकमा संयुक्त अरब इमिरेट–यूएई० रहेको छ । सो मुलुकसँग नेपालको १८ अर्ब ७७ करोड ४० लाख ५७ हजार रुपैयाँको व्यापार घाटा रहेको छ । 

यसैगरी, अर्जेन्टिनासँग १८ अर्ब ५२ करोडको, क्यानाडासँग ९ अर्ब ५१ करोडको र युक्रेनसँग ७ अर्ब ७२ करोडको व्यापार घाटा रहेको छ । यस्तै, इन्डोनेसियासँग ७ अर्ब, दक्षिण अफ्रिकासँग ६ अर्ब, कोरियासँग ६ अर्ब, अस्ट्रेलियासँग ४ अर्ब ९१ लाख साउदी अरेबियासँग ४ अर्ब ८३ करोडको व्यापार घाटा रहेको छ । 

सबैभन्दा व्यापार घाटा रहेको मुलुक माली रहेको छ । मालीसँग १० हजार रुपैयाँको व्यापार घाटा रहेको छ ।

शनिबार, ०८ फागुन २०७७, १७ : १८

प्रतिक्रिया