काठमाडौं - मार्मा गाउँपालिकामा ओखर उत्पादन बढाउने किसानलाई निःशुल्क ओखरका बिरुवा वितरण गरेको छ । ओखर उत्पादनको सम्भावना राम्रो रहेको किसानलाई स्थानीय जात र टर्की जातको ओखर निःशुल्क वितरण गरिएको हो ।
मार्माका ओखर उत्पादन हुने क्षेत्रलाई पकेट क्षेत्र बनाएर ओखर विस्तार गर्न लागिएको हो । गाउँपालिकाको सहयोगमा यस वर्ष एक हजार ३२० बोट टर्की जातको ओखरको बिरुवा किसानलाई वितरण गरिएको कृषि शाखा प्रमुख रवीन्द्र पन्तले जानकारी दिए ।
उनका अनुसार वडा नं ६ को परिवन छिपान, वडा नं ४ को बार्कु, मठखोला, वडा नं १ को तौलीमाण्डौँ दह, वडा नं २ को ओडीखेत, रस्कोट, लाम्बगड, वडा नं ३ को बजानीका लागि वितरण गरिएको छ ।
गाउँपालिकाले किसानको खेत बाँझो नराख्ने नीतिअनुरुप पकेट क्षेत्रमा ओखर लगाउन निःशुल्क बिरुवा वितरण गरेको छ । उजले भने, “आयआर्जनको राम्रो माध्यम हुने, फलफूल खेतीको राम्रो सम्भावना बोकेकै भएर प्राथमिकता साथ बिरुवा वितरण गरेका छौँ ।” गत वर्षदेखि ओखरका बिरुवा वितरण तथा लगाउने कार्य निरन्तर चलेको छ ।
गाउँपालिकाले एक घर पाँच फलफूलका बिरुवा रोप्ने अभियान चलाएर फलफूलका बिरुवा वितरण गर्ने गरेको छ । गत वर्ष वडा नं ५ मा ३०० र वडा नं ६ को ४०० घरधुरीमा फलफूलका बिरुवा लगाइएको थियो ।
यस वर्ष मार्माका वडा नं १ को ५६० घरधुरीमा फलफूलका बिरुवा लगाउने कृषि शाखाले जनाएको छ । गाउँपालिकालाई विस्तारै फलफूल ओखरमा आत्मनिर्भरउन्मुख बनाउने योजना रहेको बताइएको छ ।
प्रतिक्रिया