आलुमा आत्मनिर्भर बनाउन ५० प्रतिशत अनुदानमा बीउ

३ बर्ष अगाडि

काठमाडौं - व्यास गाउँपालिकालाई आलुखेतीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई आलु उत्पादनमा अनुदान दिन थालेको छ ।  किसानलाई  ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन थालेको हो ।

आलुखेतीको विस्तारका लागि  गाउँपालिकालाई आलु पकेट क्षेत्र घोषणा गरी काम थालेको छ । गाउँपालिकाले आलुखेती हुने पकेट क्षेत्र वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो ।

गाउँपालिकाले किसानलाई आवश्यकपर्ने आलुको बीउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराउने तयारी थालेको हो ।

आलु उत्पादनका दृष्टिले व्यासको उर्वर भूमि पनि हो । “निर्वाहका लागि गरिँदै आएको खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकतातर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेर काम थालेका छौँ । ” व्यास कृषि शाखा प्रमुख विशेश्वरप्रसाद बडुले भने ।

गाउँपालिकाले ११ वटा आलु पकेट क्षेत्रका किसानलाई २५ क्विन्टल आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरेको छ । आलु पकेट क्षेत्रभित्रका इच्छुक किसानले समूहमार्फत वा व्यक्तिगतरूपमा पनि आलुखेती गर्नसक्ने जनाएको छ ।

इच्छुक व्यक्ति वा समूहले वडाको सिफारिससहित आएको खण्डमा ५० प्रतिशत अनुदानमा बीउ प्राप्त गर्न सक्नेछन् ।  केन्द्रका प्राविधिक सहयोगमा आलु उत्पादन कार्यक्रमअन्तर्गत १२ कृषक समूह कृषि फर्मबाट पकेट क्षेत्र निर्माण हुने बताइएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा व्यास गाउँपालिकाको वडा नं ५ मा रहेको जनभावना साना किसान कृषि सहकारीद्वारा २०० रोपनी क्षेत्रफलमा रु २४ लाख बराबरको आलुखेती निर्माण गर्ने योजना रहेको जनाइएको छ । 

आलु उत्पादन भएपछि सक्नेजति बिक्रीवितरण गर्ने र नसकेको गाउँपालिकाले बिक्रीवितरणको व्यवस्था मिलाइदिने भएकाले किसान उत्साहित भएर व्यावसायिकतातर्फ आकर्षित भएको  गाउँपालिकाले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया