काठमाडौं - उपभोग्य मिति समाप्त भएको दाल बिक्री गरेको आरोपमा एक व्यापारीलाई जरिवाना लागेको छ । पाँच वर्ष अगाडि समाप्त भएको दाल बिक्री गरेको आरोपमा विराटनगरका उक्त व्यापारीलाई तीन लाख जरिवाना गरिएको हो ।
उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर९७ को गोदामबाट उपभोग्य समय समाप्त भएको दाल १५ केजी तौल भएको दुई हजार ७०० बोरा बरामद भएको छ ।
व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै सन् २०१३ मा उत्पादन भएको उक्त रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री वितरण गर्ने गरेको अनुगमनका क्रममा फेला पारेको थियो ।
उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि कार्यालयले जरिवाना गरेको हो ।
प्रतिक्रिया