अपुग भयो पशुआहार र कृषि उत्पादन

३ बर्ष अगाडि

प्रयोगशाला दिवसका अवसरमा जनकपुरधाममा आज नवीनतम प्रविधि महोत्सवको आयोजना गरिएको छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग राइजोवियम घाँसेबाली बीउबिजन प्रयोगशाला जनकपुरधामद्वारा आयोजित सो महोत्सवमा पशुपक्षीजन्य उत्पादन, उन्नत घाँसको बीउबिजनको प्रदर्शन गरिएको छ । 

तथ्याङ्कानुसार देशमा पशुका लागि आवश्यक आहार १७ प्रतिशतले अपुग तथा तराईमा १५ प्रतिशत आहारा अपुग रहेको छ । आहारामा ६५ प्रतिशतभन्दा बढी परालको प्रयोग भइरहेका कारणले उन्नत पशु आफ्नो क्षमताको ६० प्रतिशत तथा स्थानीय पशु आफ्नो क्षमताको ८० प्रतिशतमात्र उत्पादन दिइरहेको छ ।

त्यस्तै देशभरिमा घाँसको बीउको माग १६ हजार ८८३ मेट्रिक टन माग छ तर मात्र एक हजार ९८४ मेट्रिक टन मत्र उपलब्ध छ । प्रदेश नं २ मा घाँसको बीउको माग दुई हजार मेट्रिक टन माग रहेकोमा ५०० मेट्रिक टन उपलब्ध रहेको जनाइएको छ । यसैगरी दूध प्रतिव्यक्ति वार्षिक ९१ लिटर आवश्यकता रहेकोमा ७४ लिटर, मासु १४ केजी आवश्यकता रहेकोमा १८ केजी र अण्डा ४८ वटाको आवश्यकता रहेकोमा ५०।७ मात्र उपलब्ध रहेको छ । प्रदेश नं २ मा  ६६।९६ लिटर, मासु १३।४९ केजी र अण्डा १७ वटा मात्र उपलब्ध रहेको बताइएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेलले यस क्षेत्रमा विद्यमान समस्याको सम्बोधन हुने गरी नीतिगत सामाधान योजना तर्जुमाको गृहकार्य भइरहेको जानकारी दिए। प्रयोगशालाको संरचनामा सुधार र कृषकसँग सम्बन्धित मूल्यगत विषय वस्तुको सम्बोधन सन्दर्भमा पनि मन्त्रालय प्रयासरत रहेको उनले बताए। 

पशु विभागका पशुपक्षी व्यवस्थापन प्रमुख डा लोकनाथ पौडेलले गुणस्तरीय बीउ उत्पादन र अपुग आहाराको परिपूर्तितर्फ ध्यान दिनु आवश्यक रहेको धारणा राखे।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले ‘विद्यमान समस्याको समाधानका लागि मन्त्रालयले बजेट व्यवस्थापन र कृषकको मागको सम्बोधन हुने किसिमले पहल हुनु जरूरी छ’ भने। प्रयोगशाला प्रमुख  शङ्कर साहले देशमा २५ प्रतिशत खेतीयोग्य जग्गामा खेती नगरिएकाले सो खेतमा विभिन्न घाँस खेती गर्ने सम्भावना रहेको जनाउँदै घाँसे बालीमा नयाँ नयाँ कीराको प्रकोप बढेको र चरन तथा घाँस विकास कार्यक्रम प्राथमिकतामा नपरेकोप्रति ध्यानाकर्षण गराए।
 

३ बर्ष अगाडि

प्रतिक्रिया