२४ फरार व्यक्ति पक्राउ, सम्झौता सात महिनाको अवधिमै पुरा

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको हालसम्म इलाम जिल्लाका विभिन्न क्षेत्रबाट २४ फरार व्यक्ति पक्राउ परेका छन् । प्रहरीको कार्यसम्पादन सम्झौतामा यो वर्ष इलाम प्रहरीले २४ फरार व्यक्ति पक्राउ गर्नु पर्ने छ । 

त्यो सम्झौता सात महिनाको अवधिमै इलाम प्रहरीले पूरा गरिसकेको छ तर अब शतप्रतिशत लक्ष्य हासिल गर्ने अभियानमा इलाम प्रहरी लागेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक नवीन राईले बताए । 

जिल्ला अदालतबाट इलाम प्रहरीलाई ३९७ फरार अभियुक्त रहेको लगत प्राप्त भए पनि त्यो तथ्याङ्क अद्यावधिक नभएकाले अब जिल्लामा झण्डै ३०० को हाराहारीमा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ । 

फरार रहेका उनीहरुको खोजतलासलाई तीव्रता बनाएको प्रहरी निरीक्षक राईको भनाइ छ । प्रहरीको तथ्याङ्कमा जिल्लामा सबैभन्दा बढी वन मुद्दाका १११, फौजदारी मुद्दाका २६० र देवानी मुद्दाका २६ जना फरार अभियुक्तको सूचीमा रहेका छन् । 

तीमध्ये चालु आर्थिक वर्षमा पक्राउ परेकामध्ये जबर्जस्ती करणी, कर्तव्य ज्यान, वन, बहुविवाह, कुटपिटका मुद्दा बढी छन् । अदालतबाट फैसला सुनाएपछि दोषी ठहर भई फरार रहेकालाई ढिलै भए पनि कानूनी दायरामा ल्याएर पीडितलाई न्याय तथा पीडकलाई सजाय दिलाइछाड्ने दृढताका साथ प्रहरीले फरार अभियुक्त पक्राउ अभियान नै चलाएर पक्राउ गर्दै आएको प्रहरीको भनाइ छ ।
 
यस्तै फरार अभियुक्त पक्राउ गरेबापत थप सेवा सुविधा पाउने भएकाले पनि प्रहरी फरार अभियुक्त पक्राउ अभियानमा सक्रिय भएर लागेको बताइएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया