डोटीका जङ्गलमा दुई दिनदेखि आगलागी

३ बर्ष अगाडि


डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ । 

यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन् । दाउरा सङ्कलनका लागिसमेत प्रतिबन्ध लगाइएको उक्त जङ्गलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जङ्गलमा समेत आगो फैलिँदै गएको जोरायल गाउँपालिका–१ गोगनपानीका सोपान ओलीले बताए । उनले भने, “जङ्गलभरि आगलागी भएको छ, समयमै नियन्त्रण गर्न सकिएन भने वरपरका छिमेकी सामुदायिक वनमा समेत आगो फैलिने डर भएको छ ।”

आगलागीका कारण ती क्षेत्रका सामुदायिक वनमा उम्रिएका स–साना बोट बिरुका साथै जडीबुटीसमेत जलेर खरानी हुन थालेको स्थानीयवासीको भनाइ छ । आगोले सो क्षेत्रमा रहेका सल्ला, बाज, गुराँस तथा सम्मे, सतुवा, झ्याउ, कुरिलो, तेजपात, कटुकीलगायतका बहुमूल्य जडीबुटीसमेत नष्ट हुँदै गएका जोरायल गाउँपालिका–१ का वडासदस्य छपेश मल्लले जानकारी दिए । उनका अनुसार आगोका कारण जडीबुटीको क्षतिको यकिन विवरण सङ्कलन गर्न सकिएको छैन । अहिले पनि स्थानीयवासी तथा उपभोक्ता समितिका पदाधिकारी मिलेर आगो निभाउने प्रयास भइरहेको बताइएको छ । 

उक्त क्षेत्रमा सल्ला बढी भएको र सल्लाको खोटो जम्मा भएको ठाउँमा आगो निभाउन समस्या भइरहेको अर्का स्थानीयवासी कलकबहादुर बोहराले जानकारी दिए ।

ती क्षेत्रमा तीव्र गतिको हावा चल्ने गरेका कारण आगो नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष भोजबहादुर मल्लले बताए । उनका अनुसार आगो नियन्त्रणमा लिन अहिले सो क्षेत्रमा अग्निरेखा बनाउने काम भइरहेको छ । उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जिल्लाका जोरायललगायत अन्य क्षेत्रका सामुदायिक वनमा एक हप्ता पहिलेदेखि आगलागी भएको बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया