आफैलाई खोज्दा

२ बर्ष अगाडि

एकघडी और ठहेर के तो जा बाकी है
मेरे लबो पे तेरे होनेका निशा बाकी है

थाहा छैन, यो गजल कसले लेखेको हो, कसले संगीत गरेको हो, अनि कसले गाएको हो, तर यो सहरको सडकमा  यो गजल अहिले मेरो साथी बनेको छ। म सँग कोही साथी छैन, निस्कने बेला लागेको थियो, म सँग कोही साथी नै भएन। एक्लै परे तर बाटोमा आएपछि यो बुझेँ, यही गजल पो मेरो साथी बनेको रहेछ।  हामी साथीको खोजी वा पाइसकेको साथी गुम्दा धेरै चित्त दुखाउँछौ तर हिँड्दै जाँदा साथी भेटिँदो रहेछ। यी सुन्दर हरफहरु अहिले मेरा साथी हुन् । साथी सहित को यात्रा हिड्न खोज्नु सबै मान्छेको साझा अभिलाषा हो ।

तर एकफेर सोचौँ त साथीको साथ कहाँसम्म पुग्छ ? कसैको साथले मान्छे कति दरिलो बन्छ ? मलाई यि सबै कुराहरू ब्यर्थ हुन जस्तो लाग्छ । मलाई लाग्छ मान्छे आफैले आफैलाई माया गर्न सक्दैन अनि अरुसँग साथको याचना गर्छ, रुन्छ, कराँउछ, पागल भैजान्छ । यि सबै आम मान्छेमा घट्ने साझा घटनाहरु हुन । तर कसैको साथ नसोची, कसैको आशा नगर्नुले मान्छे बलियो बन्छ । जीवन जीउँदै जाँदा समय अनुसार साथीहरू आँउदै जान्छनआफु पनि त अरुको साथी हुँदै गईन्छयसरी भुमिकाहरु निभाइँदै गईन्छ । तसर्थ एक्लो हुन सक्नु सबैभन्दा ठुलो कुरा हो । तर मान्छे एक्लो हुन चाहदैन, म पनि त एक्लो हुन चाहदिन

 आज म कतै पुग्छु भनेर हिँडेको छैन। वास्तवमा कुनै उद्देश्य बिना हिँड्नु निकै आनन्द हुँदो रहेछ। यहाँ मलाई कसैले सोध्ने छैन, 'कता हिँडिस् ? किन हिँडिस्?'

मलाई कसैले फर्केपछि सोध्ने छैन्, कता पुगेर आइस?

त्यसैले आज मलाई कहिल्यै नपुगेको, नाम नै नसुनेको ठाउँहरुमा जान मन छ। खासमा कुनै ठाउँको नाम थाहा भयो भने, त्यहाँ आफ्ना खाले धारणाहरू बन्छन्, हाम्रा आँखाहरू छन हामीसँग चेतना छ, जसले यि यस्ता धारणाहरु बनाउन हामीलाई बाध्य बनाइदिन्छन । तर सोचौँ त दुनियाँमा साँचो, राम्रो, या वास्तविक के छ? हामी जे पत्याउँछौ खासमा हामी त्यहि त साँचो, राम्रो, वास्तविक भनेर मान्छौ । त्यसो भए हामिले मानेको बाहेकका कुराहरू के हुन ? के दुनियाँमा मेरो मात्र बिचार, सोचाइ राम्रो हो त? खासमा दुनियाँ मा असल-खराब, राम्रो- नराम्रो सत्य-झुट हुदैनन । यो सबै मान्छेको सोचाइ हेराई र दृष्टिकोणमा फरक पर्ने कुराहरु न हुन । वास्तवमा हामी आफ्नै सोचको दास बनिरहेका हुन्छौँ। हरेक चिजमा आफ्नै खाले विचारहरुले हामी जिन्दगी तटस्थ भएर बाँच्न पाउँदैनौ। तटस्थ हुनु गाह्रो कुरा हो। तटस्थ हुनु सबैभन्दा मज्जाको कुरा पनि त हो। यो दुनिँयामा कोही पनि त मान्छे बिचार बाहेकको छैन । म पनि त सुन्य छैन ।

म हिँडिरहेछु। म भित्रभित्रै अनेक तरङ्गहरु हिँडिरहेछन्, दौडिरहेछन्। म भित्रै कति धेरै तरङ्ग दौडिरहेछन् तर यहाँ म हिँड्नु र म भित्र दौडिनुले कतै केही फरक पर्नेवाला छैन। यो दुनियाँमा म जस्ता कति धेरै मान्छे छन्, जो हिँड्नु अनि दौडिनुले केहि फरक पार्नेवाला छैन तर पनि किन मान्छे आफ्नो अस्तित्व खोज्छ? किन शून्य हुन सक्दैन मान्छे ?

हजारौं किलोमिटर एकलयमा दौडिएका मेरा खुट्टाहरु अचेल हिँड्न अल्छी गर्छन्। तर आज म, यिनै अल्छी खुट्टाहरुको हिँडाइको चालमा हिँडिरहेछु। जहाँ लान्छ त्यहीँ , जता लान्छ त्यतै। धेरै कुराहरु हामीलाई गर्नैसक्दिन झैँ लाग्छ। तर गरेपछी ती कुराहरु सामान्य लागिदिन्छन्। सक्दिन भनेर कती धेरै कुरा छाडिएका होलान् दुनियाँमा ?

म हिँडिरहेछु, म सँगै हिँडिरहेछन् अनेक तरङ्गहरु। ती तरङ्गहरु जो हिँड्नुले खैलावैला भएको छ यो मनभरी। सम्झिएर ल्याउँदा केही छैन तर नसम्झिएर पनि त सुख छैन। खासमा सम्झिनेपनि केहो ? त्यसको अर्थ के छ ? त्यो कति महत्त्वको छ ?  यसरी सम्झिँदा सम्झिँदै हामी आफैँलाई बिर्सिदो रहेछौ।  आफैलाई बिर्सिईदोरहेछ भनेर म केहि कुरा नसम्झिन पनि त सक्दिन ।

आफ्नो अस्तित्व, आफ्नो उपस्थिती वा आफ्नै महत्त्व अझ अन्त कतैबाट खोज्दा खोज्दै मान्छे कमजोर बनिदिँदो रहेछ। तर मान्छेले कहिल्यै आफूलाई त्यो महत्त्वले हेर्दैन। अनि मान्छे बसिदिन्छ सधैं निरीह बनेर, विचरा बनेर। यस्तै भएको छ कतै  म भित्र पनि । तर म आफुलाई नखोजि रहन पनि त सक्दिन, कसैमा, कुनैमा, केहिमा कतैमा ।

कहिलेकाहीँ लेख्दिन भन्दा भन्दै धेरै कुरा लेखिन्छन्, अनि कहिलेकाहीँ लेख्छु भनेका कुराहरु यादसम्म नआउने गरि भागिदिन्छन्। उसो त हामीले सोचे झैँ हुनुपर्ने त केही होइन । तर न यहाँ हुने कुरा हुन छोड्छ न हामी सोच्न छोड्छौ। यति त हो सोच र हुनु बिचको मिलन हुँदैन। यदि मिलन भयो भने चमत्कार हुन्छ, जो निकै कम हुन्छ। तर हरेक मान्छे चमत्कार गर्ने सोचले केही नभई यसै गुज्रीई जान्छन् । म पनि त गुज्रीई जानेवाला छु ।

यो बाटो भरी घरहरु छन्। छिटपुट मोटरहरु छन्। मैले भर्खरै देखेको हुँ, आमाको काखमा खेलिरहेको बालक तर मलाई कुनै कुराले असर गरेको छैन। मान्छे जहाँ हुन्छ, त्यहाँ हुन नसक्नु मान्छेको समस्या हो। मान्छे जहाँ हुन्छ, त्यहाँ भयो भने हरचिज सम्भव हुन्छ । जाडोमा नदिमा डुबेर स्नान गर्नेहरुले न्यानो वा गर्मी सम्झिए भने उनिहरुको मोक्ष सम्भव छैन। म पनि त यो बाटोमा हिँडिरहेछु तर म यहाँ छैन, कता छु भन्ने प्रश्नको जवाफ पनि त मसँग छैन ।

कहिलेकाहि प्रश्नहरु मात्र हामीसँग हुन्छन तर जवाफ नहुदो रहेछ । के हरेक प्रश्नहरुको जवाफ हुन्छ ? जवाफ नहुने प्रश्न खासमा सजिलो-अफ्ट्यारो के हो ? अनि अफ्ट्यारो-सजिलो भनेको के हो? दुनियाँमा सजिलो के छ ? दुँनियामा अफ्ट्यारो के छ ? यो दुँनियामा सजिलो- अफ्ट्यारो केहि छैन यो सब हाम्रो सोचाइ मात्र न हो । तर हामी सजिलो अफ्ट्यारो मा अल्झिन्छौँ । आँफै भित्रको खुसि खोज्न भौतारिन्छौ । खासमा सबैकुरा हामी भित्र छैनर ? तैपनि भौतारिन्छौ । म पनि त भौतारिन्छु ।  

म यि सबैसबै कुराहरु आँफु भित्र खोज्छू तर कतै पाँउदिन । हामि जीन्दगि बाँच्छौ अनि जीन्दगिकै अर्थ खोज्छौँ अनि खोज्दा खोज्दै सकिईजान्छौँ । हामी किन यो मान्दैनौँ जे छ त्यो नै त जीवन हो । म किन मान्दिन, मान्न सक्दिन ? म जे छु यही जीन्दगि हो । खोज्दा खोज्दै हराईजानुपर्ने रहेछ । अनि मलाई लागिरहेछ जिन्दगी सडकमा बनाएर घरमा लगेर खाएको चटपटे जस्तै रहेछ। जसको स्वाद त उहि हो तर खानुको मजा भने सडकमै कतै छोडिएको हुन्छ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया