आरजु राणालाई पराजित गर्ने नारदमुनी र जसपाका यादवलाई पनि मन्त्री बनाउदै प्रधानमन्त्री

२ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति बन्न लागेका छन् । 

यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले आठजना मन्त्री पठाउँदा त्यसमा राजकिशोर यादवको नाम परेको थिएन । पार्टीमा राजकिशोर यादव पनि मन्त्री बन्ने तय भएपनि  उनको नाम एकाएक हटाइएको  थियो । जसका कारण उनी असन्तुष्टसमेत बनेका थिए । 

जसपा स्रोतका अनुसार पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले राजकिशोर यादवले उपेन्द्र यादवलाई सहयोग गरिरहेको आरोप लगाउँदै उनको नाम काट्न लगाएका थिए । जबकी पूर्व राजपाका सबै शीर्ष नेता सरकारमा सहभागी हुने सहमति भएको थियो । अहिले भने राजकिशोर यादवको नाम राष्ट्रपति कार्यालय हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुगेको हो । 

यस्तै काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई पराजित गर्ने नारदमुनी राना मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा उनलाई वनमन्त्री बनाउन लागिएको हो । 

कैलाली क्षेत्र नं ५ बाट उनले आरजु राणालाई भारी मत अन्तरले पराजित गरेका थिए । 

तत्कालीन वाम गठबन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन् ।   यसअघि वन मन्त्रीमा सुदूरपश्चिमकै प्रेम आले रहेका थिए । अहिले पनि नयाँ मन्त्री बनाइँदा सुदूरपश्चिमकै राणालाई वनमन्त्री बनाउन लागिएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया