मनकामना स्मार्ट लघुवित्तको आइपीओको प्रि अलटमेन्ट सकियो,  ९८.१० प्रतिशत भन्दा धेरैको हात खाली

शुक्रबार, २५ असार २०७८, १७ : ०५

काठमाडौं, मनकामना स्मार्ट लघुवित्तको आइपीओको प्रि अलटमेन्ट शुक्रबार सकिएको छ। प्रि अलटमेन्ट सकेर धितोपत्र बोर्डमा बुझाइसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

प्रि अलटमेन्ट सकिएसँगै आगामी सोमबारभित्र लघुवित्तको आइपीओ बाँडफाँट गर्ने तयारी गरेको क्यापिटलले जनाएको छ। भ्याएसम्म आगामी आइतबार नै आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको र नभ्याए सोमबार बाँडफाँड गरिने उनले बताए।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।

त्यस अनुसार ९८.१० प्रतिशत भन्दा धेरैले शेयर नपाउने देखिएका छन् ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०।५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

शुक्रबार, २५ असार २०७८, १७ : ०५

प्रतिक्रिया