महाकाली नदिको तुइन काटिदा एक बेपत्ता, दुर्घटनामा परी १ जनाको मृत्यु

२ बर्ष अगाडि

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । 

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ” धामीले भने, “पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।”

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ । 
यस्तै म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित आठ सामान्य घाइते भएका छन् ।  

मृत्युहुनेमा धौलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । उनका अनुसार ताकमदेखि दरबाङ हँुदै बेनीतर्फ आउँदै गरेको ग१ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडकअन्तर्गत बादिकाको भिरबाट खसेको थियो । 

चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ । घाइतेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको  जनाइएको छ ।  सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदासम्म जिपभित्रै रहेका यात्रु बाँचेका हुन् । जिपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए । 

स्थानीयवासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । दुर्घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक पौडेलले बताए । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया