कोरोना नियन्त्रणतर्फ सरकारको ध्यानाकर्षण गराउदै सांसद

२ बर्ष अगाडि

काठमाडौं - सांसदले मुुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले नागरिकको जीवन सुरक्षाका लागि गम्भीरतापूर्वक कदम चाल्न सरकारसँग अनुरोध गरेका हुन् । 

बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले मुलुकका विभिन्न ठाउँमा आएको बाढी/पहिराबाट जनधनको ठूलो क्षति भएकाले क्षति न्यूनीकरण कार्यक्रमका साथै प्रभावितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए । 

सोही दलका अर्का सांसद देवेन्द्र पौडेलले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोपको उचित प्रबन्ध गर्न ढिला भइरहेकामा चिन्ता प्रकट गरे । 

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा डिला सङ्ग्रौलाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । उनले महिला बेपत्ता भइरहेको सन्दर्भ जोड्दै आवश्यक कदम चाल्न पनि सरकारसँग अनुरोध गरिन् । 

सोही पार्टीका अर्का सांसद देवेन्द्रराज कँडेलले वैदेशिक रोजगारमा जाने युवाको भविष्य अन्योलमा रहेकाले सहजीकरण गर्न आग्रह गरे । 

अर्का सांसद पुष्पा भुसालले विगतको सरकारका कारण कोभिड–१९ नियन्त्रण प्रभावकारी हुन नसकेको आरोप लगाउँदै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकृष्ट गरिन् ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया