काठमाडौं, नेपाल सरकारको ऋणपत्रहरूको दोस्रो बजार कारोबार कसरी गरिन्छ भन्ने कुरा तल उल्लेख गरिएको छ ।
१. ट्रेजरी बिलः
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
प्रमिसरी नोट सरह खरिदकर्ता र बिक्रीकर्ता मिली एकआपसमा दरपीठ गरी खरिद बिक्री गरी दोस्रो बजार कारोबार गरिन्छ । तर, त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनु पर्दछ ।
२. विकास ऋणपत्रः
नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन तथा विकास आयोजना निमार्ण गर्नका लागि विकास ऋणपत्र निष्काशन गर्ने गर्दछ। विकास ऋणपत्र दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन दुई वा सो भन्दा बढी वर्षका लागि प्रयोग गरिने सरकारी औजार हो।
हाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ ।
विकास ऋणपत्रको दोस्रोबजार कारोबार नेपाल धितोपत्र विनिमय बजार लिमिटेड नेप्से मार्फत मात्र हुने व्यवस्था रहेको छ ।
३. नागरिक बचतपत्रः
नागरिक बचतपत्रको दोस्रो बजार कारोबार देशभरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरू मार्फत गर्न सकिन्छ ।
४. वैदेशिक रोजगार बचतपत्र
नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय वा बजार निर्माताका कार्यालयहरू मार्फत दोस्रो बजार कारोबार गर्न अर्थात् आफूसँग रहेको बचतपत्र बिक्री गर्न सकिन्छ ।
प्रतिक्रिया