ठूला लगानीकर्ताले सेयरमूल्य घटाएर आफैले किनिरहेका छन्, साना लगानीकर्ता सचेत हुनुपर्छ : पूर्वगभर्नर क्षेत्री

नाफामात्रै हामीले खाने हो भन्नेहरूलाई प्रचण्डको अभिव्यक्ति थप्पड हो
मंसिर २८, २०७८ | दीपेन्द्रबहादुर क्षेत्री
ajaako_artha

पुँजीवादी अर्थतन्त्रमा कतिपय उद्यम/व्यवसायलाई प्रश्रय दिने अथवा जगेर्ना गर्ने काम स्वाभाविक हो । जसले आफ्नो पैसा लगानी गर्छन्, सेयरबजार त्यस अतिरिक्त बाहिरबाट समेत स्रोत र साधन परिचालन गर्न निकालिएको एउटा पद्धती हो । त्यो पद्धती व्यवस्थित तरिकाबाट चल्छ भन्ने अपेक्षा राखिन्छ । तर, यसमा धेरै किसिमका ‘यदि’ र ‘तर’ हुँदोरहेछ । यो ‘यदि’ र ‘तर’ ले देशलाई नै समस्यामा पारिरहेको छ ।

‘यदि यसो भैदिएको भए, तर त्यस्तो भयो’ भनिन्छ । लगानीकर्ताहरूले यो कुरालाई राम्रोसँग पर्गेलेर लगानी गरे भने फाइदा लिन सक्छन् । यसलाई राम्ररी नबुझी बैंकमा लगानी गरेजस्तै वा त्यो भन्दा पनि छिटो नाफा कमाउने माध्यम हो भन्ने तरिकाले बुझ्दा समस्या हुन्छ ।

प्रचण्डजीले जे भन्नुभयो : अर्थ–राजनीतिक दृष्टिबाट हेर्दा उहाँले गलत कुरा गर्नुभएको होइन । गलत किन होइन भने पहिले ‘औद्योगिक पुँजी’ भनिन्थ्यो । पुँजी जति उद्योगहरूमा लगानी गरिन्थ्यो । यस्तो पुँजी कच्चा पदार्थमा पनि लगानी हुन्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो, वस्तु उत्पादन हुन्थ्यो । खपत निम्ति माग पूरा गर्न सहयोग र बढी भए निर्यात पनि गर्न सकिन्थो । यसरी उद्योगमा लगानी गर्दा एकैपटक कम्तीमा चार/पाँचवटा चीज प्राप्त हुनसक्छ ।

तर, कालान्तरमा त्यसो भएन । यसरी ‘लामो समयसम्म पर्खेर बस्ने होइन’ भनियो । अहिले पनि नेपालका केही ठूला लगानीकर्ताहरू र कतिपय व्यापारिक घरानाहरू कृषितिर तानिन थालेका छन् । बुद्ध एअरले हवाइ सेवा र कृषिलाई समानान्तर हुनेगरी अघि बढाउन प्रयास गरिरहेको छ । मुक्तिनाथ विकास बैंकले कृषि कम्पनी खोलेको छ । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले नेपालगञ्जतिर धानलगायत कृषि उपज उत्पादन थाल्नुभएको छ । यसको अर्थ के हो भने, अन्यत्र लगानी गर्दा प्रतिफल लिन लामो समय पर्खिनुपर्ने, तर कृषिमा त कुनै बालीलाई राम्ररी पहिचान गर्दा तीन महिनामा प्रतिफल दिन्छ । साग लगाए २० दिनमै खान र बेच्न मिल्छ ।

तर, सेयरबजारमा ओइरिएको लगानी यो ढंगले प्रतिफल लिने खालको होइन । यो त वित्तीय पुँजीतिर जान लाग्यो । वित्तीय पुँजी भनेको पैसा कमाउनका लागि पैसामा नै लगानी गर्ने हो । बीमा, बैंक र लघुवित्तको शेयर मूल्य हेरौं : स्ट्यान्डर्ड चार्टड बैंकको भन्दा कुनै लघुवित्तको सेयरमूल्य धेरै छ । पैसाले पैसा तान्ने कुरामा मात्रै हाम्रो अर्थतन्त्र डोहोरिन थाल्यो । यसले उत्पादन वृद्धि गर्ने, रोजगारी बढाउने कुरालाई दोस्रो/तेस्रो प्राथमिकतामा राख्यो । यस्तै संस्थाहरूलाई सपोर्ट गर्ने भएकाले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक लगायत संस्थाहरू पनि वास्तवमा त्यस किसिमले अघि बढेका छन् । त्यसैले, प्रचण्डले यी संस्थालाई साम्राज्यवादी औजारहरू हुन् भन्नुभएको हो ।

हाम्रोजस्तो अर्थतन्त्रमा धैर्यतासाथ लगानको प्रतिफल पर्खेर बस्ने वास्तविक लगानीकर्ताहरू कम छन् । सेयरबजारका धेरै मानिसहरू कारोबारी (ट्रेडर) नै हुन् । आज लगानी ग¥यो, पाँच रुपैयाँ नाफा हुनासाथ त्यसलाई बेच्यो । यस्तो प्रवृत्ति हावी भएको छ । यस्तो प्रवृत्तिका मानिसहरू सेयरबजारमा संख्यात्मक बढी भएपछि यसरी नै कमाउन हल्ला गर्नु स्वाभाविक हो । यसकै लागि उनीहरू ‘सेयरबजारलाई सपोर्ट नगर्नेलाई नो भोट’ सम्म भन्दै हल्ला मच्चाउँदैछन् । त्यो उग्र नारा हो, जुन सेयरबजारसँग सम्बन्धित नै छैन । सेयरको विषयलाई राजनीतिमा जोडिदिएपछि त नेताहरू लग्छन्, नीतिहरू त्यसैअनुसार बनाउँछन्, बैंक/वित्तीय संस्थाले जतिसक्दो धेरै रकम सेयरबजारमा हाल्छन् भन्ने उनीहरूको ध्येय हो । उनीहरूका लागि ब्याजदर पनि एकदमै कम हुनुप¥यो, अर्थात राज्य नै उनीहरूले भनेअनुसार चल्नुप¥यो । त्यो दिशामा बजार नगएपछि उनीहरूले सराप गर्ने कुरा अन्यथा होइन ।

निर्क्योल साथ मैले के भन्ने गरेको छु भने जसले सेयर बजारको फन्डामेन्टल विषयलाई बुझेर लगानी गर्नुभएको छ–उहाँहरूलाई प्रचण्डजीको भनाइले केही तातो नै लाग्दैन । लगानीकर्तालाई प्रचण्डको अभिव्यक्तिले छुँदै छुँदैन । तर, कारोबारी, आज लगानी गरेर भोलि नै प्रतिफल खोज्ने, त्यो पनि राज्यले सबै कुरा व्यवस्था गरिदिएपछि नाफामात्रै हामीले खाने हो भन्नेहरूलाई प्रचण्डको अभिव्यक्ति थप्पड हो ।

यस्ता कारोबारीहरूले राज्यलाई कर तिरेको भन्छन् । कर नै नतिरे त उनीहरूले सेयरमा खेला गर्ने ठाउँ पनि त हुँदैन । राजस्वकै लागि राज्य निकै उदार हुनुपर्ने हो भने यस्ता ठाउँ धेरै छन् । तर, कर उठाउनकै लागि राज्यले मुनाफाखोरको अनुकूल हुनेगरी नीति ल्याउने कुरै हुँदैन । राजस्व तिरेको भनी कारोबारीहरूले जुन दलिल राखेका छन्, त्यो कुनै तर्क नै होइन । यो देशमा गाँसबासका लागि संघर्ष गरिरहेका हरेक नागरिकले कर तिरिरहेका छन् ।

कारोबारीहरूले त बैंकले कता लगानी गर्नुपर्ने भन्नेसमेत आफैं निर्धारण गरिरहेका छन् । अर्काथरीले घरजग्गामा लगानी हुनुपर्छ भन्छन्, अर्काथरीले सवारीसाधनमा । सीमाभित्र रहेर कसरी व्यवस्थापन गर्ने भन्ने आफ्नो ठाउँमा होला, तर बैंकहरू यतातिर लालायित पनि छन् । होइन भने, उत्पादनमूलक क्षेत्रमा लगानी निरुत्साहन भइरहेको छ । मैले हालै पश्मिना उद्योगी एक जनासँग कुरा गरेको थिए । उनी भन्दै थिए, ‘लौ न ! पश्मिना उद्योगका लागि ऋण चाहियो भन्दा बैंकहरूले १० प्रतिशत ब्याजदरमा पनि दिँदैनन् । मोटर किन्ने, घर बनाउने हो भने सात/आठ प्रतिशत ब्याजदरमै ऋण दिन तयार छन् ।’

वारेन बफेटलाई संसारभरका सेयर लगानीकर्ताहरूले आदर्शपात्र या भगवान नै भन्ठान्छन् । उनले पनि लगानी गर्नुअघि आधार राम्रोसँग बुझ्न, स्थायित्व र प्रतिफलबारे सोच्न आग्रह गरेका छन् । तर, यहाँका कारोबारीहरूले त्यो पक्षलाई आत्मसाथ गरेकै छैनन् । नाफा कमाउने छिद्र, चाहे त्यो गैरकानूनी नै किन नहोस् : हात हालिहाल्छन् । जब फस्छन् : अनि आत्महत्या गर्नतिर लाग्छन् ।

यस्तो स्थिति हुँदा पनि प्रचण्डजीलाई मानिसहरूले गाली गर्न छाडेका छैनन् । त्यसैले, यो जसले हल्लाखल्ला गरे–उनीहरूलाई सेयर किनबेच र नाफासँग मात्रै मतलब छ । देशको आर्थिक स्थायित्व र आत्मनिर्भरताका कुरा उनीहरूलाई अपाच्य छ । किनकि, जसरी पनि कमाउनुप¥यो र राज्यभन्दा व्यक्ति वा समूह बलियो बन्नुप¥यो भन्ने विकृति छ । जसले फण्डामेन्टल बुझेको छ, उसलाई असर गर्दैन । जसले यो नबुझी कागले कान लग्यो भन्दा कान नै नछामी पछि दौडन्छन् – उनीहरूका लागि प्रचण्डको अभिव्यक्ति घातक देखिन गयो । अर्थ राजनीतिक दृष्ट्रिबाट हेर्दा वास्तवमा उहाँले नराम्रो कुरा गर्नुभएको हो जस्तो मलाई लाग्दैन ।

सीमित व्यक्तिहरूको हातमा पुँजी केन्द्रिकृत हुने भन्ने प्रचण्डको विश्लेषण पनि गलत होइन । नेपालकै स्थिति हेरियो भने त्यो सजिलै बुझिन्छ । नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) ३७ खर्ब रुपैयाँ हाराहारीमा छ । नेप्से सूचक ३२ सय अंक हाराहारीमा पुग्दा बजार पुँजीकरण ४३ खर्ब रुपैयाँ पुग्यो । हुनलाई बैंकहरूको डिपोजिट पनि जीडीपीभन्दा माथि नै छ । तर, सेयरका नाममा पुँजी केन्द्रिकरण हुँदैछ भन्ने कुरालाई त त्यो तथ्यांकले नै पुष्टि गर्छ । एउटा कोठामा बसेर मोबाइल र इन्टरनेटका भरमा मानिसहरूले बजारको पैसा सजिलै तान्ने स्थिति आयो ।

वारेन बफेटलाई संसारभरका सेयर लगानीकर्ताहरूले आदर्शपात्र या भगवान नै भन्ठान्छन् । उनले पनि लगानी गर्नुअघि आधार राम्रोसँग बुझ्न, स्थायित्व र प्रतिफलबारे सोच्न आग्रह गरेका छन् । तर, यहाँका कारोबारीहरूले त्यो पक्षलाई आत्मसाथ गरेकै छैनन् । नाफा कमाउने छिद्र, चाहे त्यो गैरकानूनी नै किन नहोस् : हात हालिहाल्छन् । जब फस्छन् : अनि आत्महत्या गर्नतिर लाग्छन् । त्यसैले कान नसमाती कागको पछाडि लाग्नेहरू मर्कामा परेका छन् । फन्डामेन्टल बुझेकाहरूलाई प्रचण्डजीको भनाइले कुनै असर पारेको छैन ।

यति भन्दै गर्दा, फेरि पनि वास्तविक लगानीकर्ताहरूले के बुझ्नुपर्छ भने अहिले सुस्ताएका, तर बजारमा जतिसुकैखेर भोल्क्यानो (ज्वालामुखी) विस्फोट गराउन खोज्नेहरूले खेल्न सक्छन् । उनीहरूले कुनै राम्रो कम्पनीको १० वटा सेयर ल्याएर फालिदिन्छन् । त्यसैमा सबै झुम्मिन्छन् । मानिसहरूले किनबेच गर्न थाल्छन् । त्यसपछि उनै ठूला लगानीकर्ताले फेरि सोही कम्पनीको सेयरको मूल्य घटाउन अनेक गर्छन् र घटेको सेयर आफैंले किन्छन् । के के गर्छन् भन्ने सबै कुरा यहाँ उल्लेख गरेर साध्य छैन । त्यसैले, लगानीकर्ताले ठूला चलखेलकर्ताहरूको चलखेलबारे जानकारी राख्नुपर्छ । यसबारे उहाँहरूले पर्याप्त अध्ययन गर्नुपर्छ ।

बैंकबाट पैसा लिएर शेयरबजारमा अर्बभन्दा बढी लगानी गर्ने दुई जनामात्रै रहेछन् । ५० करोड रुपैयाँभन्दा बढी लगाउने करिब १६० जना छन् । मौद्रिक नीतिमार्फत सेयर धितोमा दिने कर्जा (मार्जिन ल्याण्डिङ) मा ४/१२ को सीमा लगाएपछि राष्ट्र बैंकमाथि जसले आक्रमण गरे, त्यो बेकार हो । तीन करोड नेपालीहरूलाई ‘तिम्रो क्षमता छ भने हरेक बैंकबाट चार करोड रुपैयाँ लैजाऊ, सबै बैंकबाट गरेर १२ करोड रुपैयाँ पुँजीबजारमा हाल’ भनेर छोडिदिएकै छ । तर, कतिले त्यसलाई प्रयोग गरेका छन् त भन्दा यसबाट सीमित व्यक्तिहरूले मात्रै लाभ लिएका छन् ।

पछिल्लो दुई वर्षदेखि हामी कोरोना महामारीसँग जुधिरहेका छौं । नियन्त्रण निम्ति प्रतिबन्ध लगाउँदा अन्य क्षेत्र बन्द भयो । कोठामै बसेर भएभरको रकम सेयरमा हाल्नेहरू बढे । त्यतिखेर त्यही गर्नसक्ने अवस्था थियो । त्यतिखेर मानिसहरू मति कस्तोसम्म भयो भने ः बैंकमा खाता खोल्न फोटो चाहियो । छिमेकमै रहेका फोटोग्राफरकहाँ पहिले खिचेको फोटोको नम्बर लिएर गएको, पसले ल्यापटपमा सेयर हेरेर बसिरहेका थिए । स्क्रिन रातै थियो, अर्थात धेरैजसो कम्पनीको सेयर घटेको थियो । उनलाई फोटो निकालिदिन आग्रह गरेँ । तर भने, ‘यहाँ सेयरबजारमा निकै इन्ट्रेस्टिङ भइरहेको छ, पर्खनुस् ।’

सेयरको धुनमा उनले काम नगर्ने भएपछि म बैंकमा गएँ । ‘यस्तो भयो, फोटो भोलि ल्याएर दिँदा हुँदैन ?’ भनी सोधेँ । ती बैंकरले सेयरबजारकै विषयमा अर्को घटना सुनाए । उनका एक छिमेकीले बैंकबाट ५० लाख रुपैयाँ ओभरड्राफ्ट लिएका रहेछन् । बैंकरले रकम स्याङ्क्सन गराएर मात्र नराख्न भनेछन् । कर्जा लिनेले लगानी गर्ने ठाउँ नभएको बताएछन् । बैंकरले सेयरबजारमा लगाउन सुझाव दिएछन् । उनले कुनै जलविद्युत आयोजनाको ५० लाखकै सेयर किनेछन् । केही समयमै उनले एक करोड रुपैयाँ नाफा कमाएछन् । बैंकबाट लिएको कर्जा तिरेर नाफा रकम सेयरबजारमै लगाएछन् । यहाँनेर, बैंकले दिएको पैसा न उत्पादनमुलक क्षेत्रमा लगानी भयो, न मानिसहरूले रोजगारी पाए ।

यस्तो स्थिति छ । सेयरबजारलाई ‘जुवाघर हो’ भनिदिँदा जतिसक्दो छिटो मुनाफा कमाउन खोज्नेहरूको टाउको दुख्ने गरेको छ । तर, वास्तवमा हाम्रो सेयर बजार जुवाघरभन्दा पनि बढ्ता भएको छ । साना लगानीकर्ताजति सबै हल्लाका पछि लागिरहेका छन्, ठूलाहरूले अनुचित किसिमबाट साना लगानीकर्ताको सेयरमूल्य घटाएर, आफैंले किनेर पुँजी एकीकृत गरिरहेका छन् । १० वर्षअघि नचिनिएका मानिसहरू अहिले अर्बपतिमा गणना भएका छन् । उनीहरूको आर्थिक उत्थानबाट न देशको, जनताको, न त अर्थव्यवस्थाको नै उत्थान भएको छ ।

(यो पूर्वगभर्नर क्षेत्रीको व्यक्तिगत विचार हो)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८