हिजोको मेहनतलाई परिणाममा बदल्न पुनः सभापतिमा मेरो उम्मेदवारी रहन्छ: रामेश्वर गजुरेल

विहीबार, २१ जेठ २०८३, १५ : १४

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर विस्तार भएका वडा, पालिका हुँदै जिल्ला तहको अधिवेशनमा केन्द्रित भइरहेको छ । जेठ २३ र २४ गते देशभरका जिल्ला अधिवेशन हुँदैछ । सोही अनुरूप जिल्लादेखि केन्द्रीय तहसम्मका नेताहरू त्यस तर्फ केन्द्रित भइरहेका छन् । 

यसै बिच रास्वपा नुवाकोट पनि आफ्नो प्रथम जिल्ला अधिवेशनको तयारीमा होमिएको छ । जिल्लाका ८८ वडा, दुई नगरपालिकासहित १२ पालिकाको अधिवेशन सम्पन्न गरे पश्चात् पार्टी केन्द्रको निर्णय अनुरूप नै जेठ २३ र २४ गते अधिवेशन हुने भएको छ ।

गत फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाको दुवै निर्वाचनमा उत्साहजनक मतसहित रास्वपाले आफ्ना उम्मेदवारलाई विजयी गराउन सफल भयो । त्यस पश्चात् भएका वडा तथा पालिकाको अधिवेशनमा पार्टीमा आबद्ध हुनेको संख्या उत्साहजनक रहेको रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलले बताए । उनका अनुसार निर्वाचनको समयमा खुलेर पार्टीमा देखिन नचाहेका समर्थकहरु पनि अहिले खुलेरै पार्टीका कार्यक्रमहरूमा सरिक हुने गरेका छन् । 

पार्टीको संस्थापक जिल्ला सभापति रहेका गजुरेल आगामी अधिवेशनमा पुनः सभापति पदमा उम्मेदवारी दिने तयारीमा देखिएका छन् । “सभापति पदका आकांक्षीहरु थुप्रै भएता पनि पहिलो कार्यकाल सिकाइसँगै पार्टी निर्माण गर्ने कार्यमा नै समय व्यतीत भएकाले पनि अब सो मेहनतलाई परिणाममा बदल्नका लागि जिल्ला सभापतिमा स्वाभाविक रूपमै मेरो उम्मेदवारी रहन्छ” उनले बताए ।

तीन जनाको टिमले सुरुवात गरेको नुवाकोट रास्वपाको यात्रा हाल हजारौँको संख्यामा पुगेको छ, जसको परिणाम गत निर्वाचन भएको सभापति गजुरेल बताउँछन् । उनले भने, “२०७९ को निर्वाचनमा हामी राजनीतिक रूपमा नयाँ थियौँ, जिल्लाभर पार्टीको संगठन निर्माण भइसकेको थिएन त्यस समयमा पनि हामीले सम्मानजनक मत पाएका थियौँ । हाम्रो पार्टीले सफलता हात नपारे पनि आम मतदाताको मतको सम्मान गर्दै समर्थक तथा शुभेच्छुकमाझ हाम्रो उपस्थिति निरन्तर रह्यो । जसको परिणाम स्वरूप २०८१ को निर्वाचनमा रास्वपाले सफलता हात पार्न सक्यो ।” स्थापनाको समयदेखि पार्टीकै विकासमा आफूलाई समर्पण गरेकाले पनि आसन्न अधिवेशनमा पार्टी प्रतिनिधि तथा समर्थकहरूको आफू प्रति पूर्ण समर्थन रहने उनको विश्वास छ ।

अध्ययनसँगै सामाजिक अभियानमा सक्रिय रहिरहेका गजुरेल रास्वपाको स्थापना पश्चात् राजनीतिमा होमिएका हुन् । उमेरले सानै भएता पनि जिल्लामा पार्टीको नेतृत्व उनका लागि विल्कुलै नयाँ थियो । तर पनि पार्टीप्रतिको निरन्तर लगाव, मेहनत र नेतृत्वदायी क्षमताका कारण जिल्लामा पार्टीको प्रभाव बलियो बन्न पुग्यो । रास्वपाको यात्रामा होमिएसँगै राजनीतिलाई अझैँ गहिराइमा बुझ्ने र त्यसलाई व्यवहारिकतामा उतार्दै आएका गजुरेलले प्रतिनिधि सभा सदस्यको दुई निर्वाचनमा निभाएको भूमिकाबाट प्रस्ट भएको रास्वपाको जिल्ला तहका नेताहरू बताउँछन् । 

पछिल्लो समय राजनीतिमा युवा पुस्ताको सक्रियता उल्लेख्य रूपमा बढ्दै गएको छ । युवा जोस, नवीनतम सोचलाई राजनीतिमा रचनात्मक तवरबाट प्रस्तुत गर्न सक्दा आम नागरिकले पनि परिवर्तनको आभास गर्न सक्नेछन् । त्यसैले पनि नुवाकोटको रास्वपा नेतृत्वमा रामेश्वर गजुरेलको नेतृत्वलाई पुनः स्वागत गर्न आम रास्वपा नेता, कार्यकर्ता तथा समर्थकहरू आतुर रहेको देख्न सकिन्छ ।

 
विहीबार, २१ जेठ २०८३, १५ : १४

प्रतिक्रिया