शहिद दुर्गानन्द झाः जसले राजा महेन्द्रमाथि बम प्रहार गरे

बुधबार, १६ माघ २०७५, १२ : ४०

ऐतिहासिक धार्मिक नगरी जनकपुरधाम स्थित जानकी मन्दिर प्राङ्गणमा वि.सं. २०१८ साल माघ ९ गते तत्कालिक राजा महेन्द्र शाह माथि यूवा दुर्गानन्द झाले बम प्रहार गरेपछि राजनीतिक कोर्षको एक अध्याय परिवर्तन हुने कुरा प्रायः सुनिश्चितता भएको दिनको रुपमा माघ ९ गते अर्थात आजको दिनलाई लिइने गरिन्छ ।

वि.सं. १९९७ सालका ४ अमर शहीद झैँ वि.सं. २०२० पुस १० मा अदालती निर्णय तत्कालीन राजाबाट सदर गरिएपछि शहीद सप्ताहकै छैटौं दिनमा वि.सं. २०२० माघ १५ मा २२ वर्षको उमेरमा नेपालको इतिहासमा पहिलो पटक एक ब्राह्मण जातका यूवालाई मृत्युदण्ड दिइएको थियो ।  

अमर शहीद दुर्गानन्द झा समेतले अनेकन आन्दोलन, सशस्त्र आन्दोलनमा हजारौँ हजार वीर शहीदका बलिदानले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

शहिद दुर्गानन्द झाको जिवनी
वि.सं. १९९९ साल वैशाख १४ मा तत्कालीन महोत्तरी जिल्ला अन्तर्गत नेपाल–भारत सिमानाको जटही गाउँमा शहीद दुर्गानन्द झाको जन्म भएको थियो ।   

जटहीका देवनारायण झा र श्रीमती सुकुमारीदेवी झाको एकमात्र सुपुत्र दुर्गानन्द झा बाल्यकालमै रहँदा उनको पिताको निधन भएकाले दुर्गानन्दको शिक्षा–दीक्षा माता सुकुमारी देवीको रेखदेखमा भयो । उसबेला नेपालमा विद्यालय नरहेकाले सीमापारिको उमगांव स्थित दीनदयाल माध्यमिक विद्यालयमा पढाइ भयो । बाल्यकालदेखि नै अरूभन्दा आफ्नो विशिष्टता प्राप्त गर्ने विचार राख्ने दुर्गानन्द सूरो दिमागका र उनी जुन काममा लागे त्यो गरेरमात्र छाड्थे ।

आमाको रेखदेखमा गाउँमा रहेकै विद्यालयबाट प्राथमिक तहको शिक्षा तथा जटही सिमाक्षेत्र देखि ५ किलोमिटरको दुरीमा रहेको भारतीय अवस्थित  उमगाँवमा दिनदयाल हाई स्कुलबाट समेत उनले शिक्षादीक्षा लिए । घरको एक्लो सन्तान भएकाले मेट्रिकमा पढ्दापढदै २०१७ सालमा विवाह पञ्चमीको दिन काशीदेवी झासंग दुर्गानन्द झाको विवाह भयो । दुर्गानन्दको विवाह कलिलो १७ वर्षको उमेरमा कुम्हरौडाकी १४ वर्षीया काशीदेवी सित भएको थियो । 

एक वर्षसम्म सुखद दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतान्त्रिक संघर्षमा लागेकाले घरमा एक्ली दोइजो श्रीमती र वृद्ध आमा दुर्गानन्दको व्यवहारबाट चिन्तित रहेकाले आवश्यक हेरचाह नभएर शिशु मृत जन्मे । शहीद दुर्गानन्दको परिवारमा वि.सं. २०६० साल भाद्रमा वृद्ध आमाको निधनपछि उनको जिवनसंगिनी घरपरिवारमा एक्ली काशीदेवी झा मात्र जिवित छन्् ।

राजनीतिक यात्राको आरम्भ
विवाह लगत्तै २०१७ पुस १ मा राजा महेन्द्रले जवननिर्वाचित संसद् र संसदीय सरकार विघटन गरेको खबर उमगांव माविमा पढ्दै थाहा पाएका दुर्गानन्दमा त्यसको ठूलो प्रतिक्रिया भएको थियो । नेपाल–भारत सीमापारिको भारतीय गणतन्त्रमा अध्ययनरत युवक दुर्गानन्दले आफ्ना साथीहरूका बीच लोकतन्त्रको हत्यारालाई अब चैनसित बाँच्न नदिने प्रतिज्ञा गरे ।

‘दो हंसोको जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ जेल जीवन यात्राका क्रममा फाँसीको फन्दामा चढ्नु अघि शहीद दुर्गानन्द झाले आफ्नी जिवनसंगिनी काशीदेवीको यादमा यही हिन्दी गीत गाएर विरह र वियोगको भाव प्रकट गर्ने गरेको उनका निकटस्थम्ले बताउने गरेका छन् ।

दुर्गानन्द झासंगको अन्तिम भेटका लागि केन्द्रीय कारागार काठमाडौं बोलाइएकी काशीदेवीलाई निरंकुश शासकले उनलाई फाँसीको सजाय दिन्छन् र यही उनीसितको अन्तिम भेट हो भन्ने कुराको जानकारी समेत थिएन ।

जयनगरमा निर्वासित विघटित संसद्का नेपाली कांग्रेसका युवा सांसद सरोज कोइराला राजा महेन्द्रको तानाशाहीको विरोधमा सक्रिय भए र पटनामा काँग्रेसका तत्कालिन महामन्त्री परशुनारायण चौधरीलाई भेटेर राजाको जनकपुरधाम भ्रमणको क्रममा ध्वंसात्मक गतिविधि गर्ने प्रस्ताव गर्दा महामन्त्रीले अस्वीकार गरे पनि उनी आफ्नो विचारमा दृढ रहे र २०१८ साल माघमा राजा महेन्द्रको पूर्वी तराईको भ्रमणक्रममा बम प्रहार गराउने योजनामा लागे ।

दुर्गानन्दको राजनीति यात्रा र मृत्यूवरण
वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा कांग्रेसले देशव्यापीरुपमा क्रान्ति थालेको थियो ।

छिमेकी देश भारतमा पनि देशलाई आजादी दिलाउनका लागि अंग्रेज विरुद्ध कडा संघर्षहरु चल्दै थियो । स्वतन्त्रता संग्रामका वीर भतग सिंह र चन्द्रशेखर आजादको जीवनी पढिसकेकाले दुर्गानन्द झाले प्रजातन्त्रको हत्यारालाई नछाड्ने मनः स्थिती तय गरिसकेका थिए ।  दुर्गानन्द आफ्नो लक्ष्यमा अडिग रहि रहे ।

भारत विहारको मधुवनी जिल्लामा पर्ने उमगाँवमा पढिरहेकै ठाउँभन्दा केही पर रहेको कांग्रेसका निर्वासित नेताहरुका सम्पर्कमा उनी पुगे । त्यसैक्रममा प्रतिबन्धित दल कांग्रेसले  ठाउँठाउँमा राजाको ‘कु’ को विरुद्धमा उत्रेका थिए । वि.सं. २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर सवारी हँुदा उनी चढेको गाडीमाथि बम प्रहार गर्ने योजना बनाइएको थियो । जसको अगुवाई दुर्गानन्द झाले गरे ।

वि.सं. २०१८ माघ ९ गतेको दिन राजा महेन्द्र विराटनगरबाट विशेष विमानद्वारा जनकपुर विमानघाटमा पुग्ने कार्यक्रम थियो । विमानस्थलमा राजा ओर्लनुपूर्व नै अरविन्दकुमार ठाकुर बम सहित पक्राउ परिसकेका थिए । त्यतिबेला राजा महेन्द्रको यात्रा पाँच घण्टा सम्म रोकिएको थियो र कडा सुरक्षा व्यवस्थापछि राजा महेन्द्र जनकपुरधाम स्थित जानकी मन्दिर पुग्दा जानकी चोकमा गाडी रोकिनासाथ दुर्गानन्दले बम प्रहार गरेका थिए । हजारौँ सेना र प्रहरी सशस्त्रधारीहरूका कडा सुरक्षा बीचमा राजा चढेको गाडीमा बम प्रहार गरेर पनि उनी पक्राउ परेनन् तरपनि राजा बाँच्न सफल भए । यस घटनाका फलस्वरूप विश्वभरि नै प्रजातन्त्रप्रति नेपाली जनताको आवाज गुञ्जयमान भयो । त्यो राति जनकपुरधाममै आफ्ना गाउंँले मित्र हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको डेरामा रात बिताएर भोलिपल्ट सीमापारि दुर्गानन्द गए ।

जनकपुर बम काण्डको नाममा ५६ जना समातिएका थिए । पक्राउ परेकाहरूलाई मरणासन्न हुनेगरी कुटपिट गरिएको खबर पाउँदा दुर्गानन्दले भारतमा निर्वासित बस्नु उपयुक्त ठानेनन् । निर्वासनमा काँग्रेसले उनलाई रहने, बस्ने र अगाडि पढ्ने सबै व्यवस्था मिलाउँदा पनि उनले बम काण्डको नाममा निर्दोष मानिस दुःख पाइरहेको पीडा सहन गर्न नसकेर एक दिन जयनगरमा नेपाली रेलबाट जनकपुर फर्के र आफ्नो गिरफ्तारी स्वयम् दिएको थियो । यसको केही समयपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको थियो ।

सरकारले यो बम काण्डसम्बन्धमा विशेष अदालत न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहेको एक आयोग गठन गरेको थियो । आयोगले कुनै पुर्पुक्ष नै नगरी २०१९ भदौ १९ मा दुर्गानन्द झालाई फासी र  तथा अरविन्दकुमार ठाकुुर र दलसिंह थापालाई जन्मकैद दिने निर्णय गरेको थियो ।

राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथापुर स्टेशनसम्ममा कसैले केही गरेन । यसैबीच प्रहरी उपरिक्षक मानबहादुर राई दर्जनौं प्रहरीको नेतृत्व गर्दै धनुषा स्थित परवाहा गाउँको रेल्वे स्टेसनमा पुगे । त्यहाँ रेलबाट ओर्लनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो । भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौं सुन्धारास्थित भद्रगोल जेलमा पठाइयो । गिरफ्तारी दिएलगतै उनीमाथि राजद्रोहको मुद्दा चलाइयो र पञ्चायत सरकारले उनलाई मृत्यूदण्डको सजायको निर्णय सुनायो । वि.सं. २०२० माघ १५ गते उनलाई फाँसीको तख्तामा झुन्ड्याइयो । फाँसीमा झुन्ड्याउनु भन्दा एक दिन अगाडी मात्र उनको आमा र जिवनसंगिनीलाई कारागारमा बोलाई भेट गर्न दिइएको थियो । केही बेरको भेटमा उनले आमालाई भनेका थिए, दुर्गानन्द झाले– नरुनुहोस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । र हजारौँ मजस्ता दुर्गानन्दहरु यो देशले पाउने छन् ।

श्रीमतीलाई पनि त्यसैगरी सान्तवना दिँदै आमाको हेरचाह गर्न भनेका थिए । यता माघ १५ राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्डयाउँदै उतार्दै गरिन्छ । त्यसबखत पनि दुर्गानन्दलाई माफि माँगी बिन्तीपत्र लेख्न भनेका थिए । सरकारले एक विशेष अदालत पनि गठन ग¥यो । सफाईको मौका समेत नदिएर २०१९ साल भदौ १९ मा मृत्युदण्डको निर्णय सुनायो । त्यसबेला सम्म नेपालमा ब्राहमणलाई मृत्युदण्ड दिइने व्यवस्था थिएन । त्यसैले मुलुकी ऐन २०२० भदौं १ मा संशोधन गरियो ।

विशेष अदालतको अनुमोदनअनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो । २०२० माघ १५ दुर्गानन्द झालाई सुन्धारा जेलमा मध्यरातमा मृत्युदण्ड दिन ढोका खोल्दा त्यो निर्भिक क्रान्तिकारी यूवा मृत्युका लागि तत्पर र प्रतिक्षारत्त देखेर तत्कालिन शासक समेत छक्क परेका थिए ।

१८ महिना सम्म जेलमा राखेपछि दुर्गानन्दलाई फाँसी दिइएको थियो भने दुर्गानन्दलाई सेन्ट्रल जेल परिसरकै रुखमा मध्यरात १२ बजे झुण्डयाउँदा उनी निकैबेर छट्पटाएपछि रुखमा बाँधेर गोली पनि हानिएको थियो ।

पहिलो ब्राह्मणलाई फाँसी दिन कानुन संशोधन
तत्कालीन कानुनमा ब्राह्मणलाई मृत्युदण्ड नदिने व्यवस्था थियो । यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीनैजनाद्वारा गरिएको अपिलमा २०१९ पुस ५ मा रत्नबहादुर विष्ट र मीनबहादुर थापाले अपिलकर्तालाई झिकाउने आदेश गरेको थियो । न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णयलाई मनासिब ठह¥याउँदै मृत्युदण्डको निर्णय गरेको थियो । तर त्यसबेलासम्म नेपालमा ब्राह्मणलाई मृत्युदण्ड दिइँदैनथ्यो । राजा महेन्द्रले मुलुकी ऐनमा संशोधन गरी सबैलाई एक समान साजय दिने व्यवस्था ग¥यो । र दुर्गानन्द झालाई प्रचलित कानुनअनुसार गर्ने र अन्य दुईजना अरविन्दकुमार ठाकुर र दलंिसंह थापाको मृत्युदण्डलाई जन्मकैदमा परिणत गरेको भनि राजदरबारको पत्र सर्वोच्च अदालतमा पठाइएको थियो ।

नेपाली इतिहासमा १९९७ सालमा राज्यले शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथ चन्दलाई मृत्युदण्ड दिएको २३ वर्षपछि राज्यको निर्णयद्वारा दुर्गानन्द झालाई २०२० माघ १५ गतेको मध्यराति मृत्युदण्ड दिइएको थियो ।

दुर्गानन्द झा अस्पताल निर्माण अन्योल
कांग्रेस नेतृत्वको सरकार रहुञ्जेलसम्म शहिद दुर्गानन्द झालाई उपेक्षित गरिरहे । माओवादी नेतृत्वमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि माओवादीको सरकारले स–सम्मान दुर्गानन्दको नाममा अस्पताल खोल्न केही रकम समेत छुट्याएको चर्चा निकै चलेको थियो । तर अस्पताल भने अहिलेसम्म निर्माण हुन सकेको छैन । कांग्रेसको सरकारको बेला स्वास्थ्य मन्त्री रहेका गगन थापाले अस्पताल निर्माण हुनेमा विश्वास्थ रहन सरकारबाट हटेपनि हालसम्म यसको पहलको लागि कसैले वास्ता गरेनन् ।

लामो समय बितिसक्दा पनि प्रसुति गृह निर्माणको कुनै छाटकाट नदेखेपछि अहिले स्थानीयवासी निराश भएका छन् ।

दुर्गानन्द झाको गाउँ जटहीमा प्रवेशद्वार
शहिद दुर्गानन्द झाकै गाउँबासी रहेका नेपाली कांग्रेस धनुषाका पूर्व सभापति एवं सांसद स्मृतिनारायण चौधरीले जटही गाउँमा उनको सालिक सहितको प्रवेशद्वारको निर्माण गरे । तत्कालिन मधेश केन्द्रित दल तराई मधेश लोकतान्त्रिक पार्टीले शहिद दुर्गानन्द झाकी जिवनसंगिनी काशीदेवी झालाई संविधानसभाको सदस्यमा समानुपातिक तर्फबाट मनोनित गरेर शहिद प्रतिको सम्मान गरेको थियो । माघ १९ गतेको दिनलाई कांग्रेसले पनि सामान्यरुपमा मनाउने गर्छन् । तर खासै चासो भने नराख्ने कांग्रेसले यस वर्ष सरकारको विपक्षीको दलको रुपमा रहेपछि कांग्रेसले पनि दुर्गानन्द झालाई औपचारिक रुपमै कार्यक्रम गरे । सत्तामा रहुञ्जेल वास्ता कहिल्यै नगरेका कांग्रेसी नेताको चाला देखेर चकित समेत परेका थिएनन् ।

जनकपुरमा आयोजित कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधीले हुलाकी राजमार्गको नाम दुर्गानन्द झा मध्य तराई मार्ग राख्न माँग गरेका छन् ।

ठाउँको अभावमा अलपत्र दुर्गानन्द झाको स्मारक
त्यस्तै अमर शहिद दुर्गानन्द झा स्मारक निर्माण समितिका अध्यक्ष राजेश्वर नेपालीले करिब ७ वर्ष पूर्व जानकी मन्दिर प्रांगणमा दुर्गानन्द झाको स्मारक सहितको पार्क निर्माण भयो । तर केहि महिनापछि नै त्यो पार्कको विवादले उग्ररुप लिएपछि रातारात स्मारक सहित पार्क गायब पारियो । त्यस यता देखि यस समितिले जनकपुरमा ठाउँको अभाव देखाउदैँ विभिन्न निकाय तथा सरोकारवालासंग ठाउँ उपलब्ध गराईदिन आग्रह गर्दै आएका छन् । वरिष्ठ पत्रकार समेत रहेका अध्यक्ष राजेश्वर नेपालीले काठमाण्डौँमा शहिद दुर्गानन्द झाको ६.१ फिट भएको कदको शालिक तयार पारि राखिएको छ, तर पार्क बनाउनका लागि ठाउँको अभावको कारण हामी अलमलमा परेका छौँ बताए ।

यता प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारले दुर्गानन्द झाको स्मारकको लागि लाग्ने सम्पूर्ण खर्च गर्न तयार रहेको र छिट्टै नै जनकपुरधाम शालिक सहितको पार्क निर्माण गरिने वचन दिएका छन् ।

जनकपुरमा विभिन्न ठाउँमा विविध कार्यक्रम गरि यूवाहरुले पनि शहिद दुर्गानन्द झाको स्मरण गरेका छन् ।
 

बुधबार, १६ माघ २०७५, १२ : ४०

प्रतिक्रिया