एउटा सिपाही सामान्य घाइते हुँदा उसको युद्ध सकिन्दैन, अझ रणनीतिक कौशलताका साथ अगाडि बढ्छ : योगेश भट्टराई

१ बर्ष अगाडि

ताप्लेजुङ - नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेश भट्टराईले स्थानीय तह निर्वाचनमा गठबन्धनको घेरा तोड्न सफल भए पनि अलिकति घाइते हुनुपरेको बताएका छन् । गृह जिल्ला ताप्लेजुङमा आइतबार निर्वाचित जनप्रतिनिधिलाई बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा सिपाही सामान्य घाइते हुँदा उसको युद्ध नसकिने र अझ रणनीतिक कौशलताका साथ अगाडि बढ्नुपर्ने बताए । 

जनपक्षीय उम्मेदवारलाई जिताउन २०४३ को निर्वाचनदेखि प्रजातन्त्र प्राप्तिपछिका हरेक निर्वाचनलाई मूल्यांकन गर्दा यो पटक पार्टीमा सबैभन्दा बढी अन्तर्घात भएको आफूले पाएको पनि उनले दाबी गरे ।

पार्टीमा बसेर अन्तर्घात गर्नु गैरजिम्मेवार कार्य भएको भन्दै उनले यसको पृष्ठभूमिदेखि नै गएर समीक्षा गर्नुपर्ने पनि बताए । भने, ‘मैले ४३ सालदेखिको निर्वाचन नजिकबाट देखे भोगेको छु । नेकपा एमालेभित्र पहिलो पटक अन्तर्घात भन्छन् हो त्यस्तो यत्ति ठूलो देखिएको छ, यसको गम्भीर समीक्षा गर्नुपर्छ ।’ उम्मेदवार छनौटदेखि नै कमजोरी भयो कि, किन भयो भनेर समीक्षा गर्नुपर्ने उनले बताए ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै भट्टराईले एमाले दुई/चार सिट जितेर च्याँखे थाप्ने पार्टी नभएको दाबी गर्दै कार्यकर्तालाई इखालु भएर लाग्न निर्देशन दिए । ‘इख नभएको मान्छे र बिख नभएको सर्प काम दिँदैन भन्छन्,’ भट्टराईले थपे, ‘हामीसँग प्रतिरोधी क्षमता हुनुपर्छ र अलिकति इखालु बन्नु पर्छ ।’

प्रत्येक जनप्रतिनिधि वा पार्टीका पराजित उम्मेदवारलाई दुई हप्तामा एक पटक त्यो सम्भव नभए महिनामा एक पटक जनताका घरदैलोमा अनिवार्य पुग्न पनि निर्देशन दिए । 

१ बर्ष अगाडि

प्रतिक्रिया