स्वदेशमा उत्पादित औषधिमाथि सरकारी बेवास्ता, औषधिमा नै बाहिरिन्छ दैनिक सात करोड

मंगलबार, २२ माघ २०७५, ०७ : ५५

काठमाडौं । सरकारले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै आएको दाबी गरे पनि औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ विदेसिने गरेको छ । स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बन्ने सरकारी योजना भए पनि औषधि खरिदमा दैनिक ६ करोड ८० लाख रुपैयाँ विदेशमा पठाउनुपर्ने बाध्यता रहँदै आएको छ । यस हिसाबले औषधिमा मात्रै वार्षिक झन्डै २५ अर्ब रुपैयाँ बाह्य देशमा पुग्ने गरेको देखिन्छ ।
भन्सार विभागका अनुसार नेपालमा भारत, बंगलादेश, चीन, बेल्जियम, जर्मनी, इन्डोनेसियालगायत ५० भन्दा बढी देशबाट औषधि आयात भइरहेको छ । तर, नेपालमा उत्पादन भएका औषधि भने दैनिक ५ करोड ५० लाख रुपैयाँबराबरको थोक मूूल्यमा खपत हुने गरेको छ ।

नेपाली औषधि उत्पादकहरूले ५१ थरीका औषधिमा आत्मनिर्भर भएको भन्दै आयात नगर्न सरकारलाई पटक–पटक आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । जसअन्तर्गत एम्लोडिपिन, मेटफर्मिन, एमोक्साइक्लिन, एजिथ्रोमाइकिन, पेन्टाप्राजोल, अलप्राजोलम, इकोलोप्राम, लोसार्टेन पोटासियम, सेफेक्जाइम, ¥याविप्राजोललगायत छन् ।
यस्तै, मेट्रो निडाजोल, ओमिप्राजोल, टिनिड्याजोल, डिक्लोेफेनक जेललगायत रहेका छन् । तर, यहाँ उत्पादन भएका औषधिलाई छाडेर सोही प्रकृतिकै औषधि बाह्य देशबाट धमाधम आयात भइरहेका छन् ।
नेपालमा औषधि हुँदाहुँदै बाह्य देशका औषधिलाई बढी प्राथमिकता दिइएको भन्दै नेपाली औषधि उत्पादकहरू रुष्ट छन् । सरकारी निकायले उचित नियमन गर्न नसक्दा नेपाली औषधिले बजारमा स्थान पाउन नसकेको उत्पादकहरूको आरोप छ ।
३० थरीका औषधिमा आफूहरू आत्मनिर्भर भएको नेपाली औषधि उत्पादकहरूले बताएपछि तत्कालीन सरकारले स्वदेशमै उत्पादित प्रकृतिका औषधि विदेशबाट आयात नगर्ने निर्णय गरेको थियो । राजधानी दैनिकमा खबर छापिएको छ । 

मंगलबार, २२ माघ २०७५, ०७ : ५५

प्रतिक्रिया