प्रदेशको नाम, भाषा तथा राजधानी शीघ्र तोक्न आग्रह

मंगलबार, २२ माघ २०७५, ११ : २३

जनकपुरधाम – प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशको नाम, भाषा तथा राजधानी अहिलेसम्म नतोकिएकोले प्रदेश सभाबाट शीघ्र निर्णय गर्नका लागि शुभकामना दिएका छन् । 

प्रदेश नं. २ को प्रदेश सभाको पहिलो वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । साथै उनले संघीयता पश्चात पहिलो पटक स्थापित प्रदेश सभाले पहिलो वर्ष पूरा गरेकोमा शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । 
सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री मो.लाल बाबु राउत गद्दीले कर्मचारी अभावले प्रदेशको कार्य गर्न कठिनाई भइरहेको बताएका थिए । त्यस्तै, उक्त कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा कानुन निर्माण गर्नका लागि सबै दलको सहयोग प्राप्त भईरहेको विचार प्रस्तुत गरे ।

खेल, रक्तदान, बृक्षारोपण जस्ता ३ दिवसीय कार्यक्रम गरी प्रदेश सभाले पहिलो वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा भलिबल तथा ब्याडमिन्टन खेलमा प्रथम, द्वितीय तथा तृत्तीय हुने मन्त्री तथा कर्मचारी खेलाडीहरुलाई प्रमाणपत्रका साथै ट्रफी प्रदान गरिएको थियो । त्यस्तै, रक्तदान गरेकाहरुलाई पनि सो कार्यक्रममा प्रमाण पत्र दिइएको थियो । 

कार्यक्रममा उत्कृष्ट प्रदेश सभा सदस्य पुरस्कार साँसद शिवचन्द्र चौधरीलाई ५१ हजार नगद तथा सम्मान पत्रसहित प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको पुरस्कार रँजीत राय यादवलाई ५१ हजार नगद तथा सम्मान पत्र सहित प्रदान गरिएको छ ।

कार्यक्रममा विधेयकहरुको सँग्रहित पुस्तक विमोचन गर्नुका साथै कबीर अनाथ बाल आश्रमका बालबालिकालाई लता कपडा पनि बितरण गरिएको थियो । कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, संघीय साँसद, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

मंगलबार, २२ माघ २०७५, ११ : २३

प्रतिक्रिया