रामेछाप। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुँजीवाद र साम्यवादले जुधेर सिङ फुकालिसकेकोले संसारलाई नयाँ विचार चाहिएको बताउनुभएको छ । पार्टीले सञ्चालन गरेको एक महिने जनसंवाद यात्राको क्रममा मंगलबार रामेछापको मन्थलीमा जारी जनसंवादमा बोल्दै उहाँले अहिले पुँजीवाद र साम्यवाद हिजोको अवस्थामा नरहेको र यसले आफ्नो स्वरुप र अवस्था गुमाइसकेको बताउनुभएको हो ।
'हिजोका पुँजीवाद र साम्यवाद दुबैले एकअर्कासँग जुधेर सिङ फुकालिसके,' उहाँले भन्नुभयो, 'मार्क्स फर्केर आए भने पनि उहाँले यही कुरा भन्नुहुन्छ ।' हिजोको अवस्था र आजको अवस्था उही नरहेको उहाँको तर्क थियो ।
'अहिले न पुँजीवाद पुँजीवादजस्तो छ न साम्यवाद साम्यवाद जस्तो । न्यूटनीय साइन्सलाई मार्क्सले पढ्दा आइन्स्टाइन केवल ४ वर्षका थिए । अहिले त स्टेफन हकिङ्स र म्याक्स प्लांकको विज्ञानसम्म आइपुगेको छ,' उहाँले भन्नुभयो, 'संसार धेरै अघि बढिसक्यो । हिजोको सूत्र घोकेर आजको राजनीति हुँदैन ।'
उहाँले मार्क्सको पालामा उपलब्ध सम्पत्तिको स्वरुपहरुमा नै बदलाव आइसकेको र अहिले मालिक र मजदूर छुट्याउनै मुस्किल रहेको तर्क राख्नुभयो । 'केही मान्छे मात्रै शिक्षित रहेको बेला पार्टी कार्यकर्ता जनताको ज्ञान लिएर जाने तत्कालीन सन्दर्भमा भेनगार्डको अवधारणा विकास गरिएको थियो,' उहाँले भन्नुभयो, 'अहिले साक्षरता दर कहाँ पुगिसक्यो, प्रत्येक मजदूरको खल्तीमा स्मार्ट फोन छ ।' उहाँले पुरानो ढाँचाको पार्टीले २१औं शताब्दीको चेतनालाई नेतृत्व गर्ने लोकतान्त्रिक अभ्यासको सुनिश्चित गर्न नसक्ने बताउनुभयो ।
पुरानै पार्टीमा टाँसिएर बस्दा नेपालीको दिमागमा झ्याउ र लेउ लागेको भन्दै उहाँले हिजोका सूत्र घोकेर आज समृद्धि र मानव सभ्यताको नेतृत्व गर्न नसकिने बताउनुभयो । 'कतिपयले मलाई विचारमा चिप्लियो भन्नुहुन्छ । म मात्रै होइन, सबै चिप्लनुपर्छ,' उहाँले भन्नुभयो, 'पार्टीलाई विश्वासको रुपमा लिएर जातिवादीजस्तै मानसिकता बोकेर अगाडि बढ्न सकिँदैन ।' उहाँले मार्क्स र लेनिन, बिपी आदिले कुन प्रसंगमा बोलेका थिए भनेर याद नगरी सूत्रजस्तै घोकेर मात्रै समृद्धिको नेतृत्व गर्न नसकिने बताउनुभयो ।
संयोजक डा. भट्टराईले नेपाली क्रान्तिहरु विजयभन्दा पनि सम्झौतामा टुंगिनाले नेपाली समाज पछाडि परेको धारणा राख्नुभयो । समृद्धिका लागि सबै शक्ति केन्द्रित गरेर एउटा निर्णायक धक्का दिनुपर्नेमा उहाँको जोड थियो ।
प्रतिक्रिया