काठमाडौँ — संसद्को दुई तिहाइभन्दा बढी समर्थनमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारको एकवर्षे अवधिका उपलब्धिको सूची तयार पार्न प्रधानमन्त्री कार्यालयमा केही सातादेखि चटारो छ । बुधबार पनि कर्मचारी त्यसकै तयारीमा व्यस्त थिए ।
प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट पहिलो वर्षको समीक्षासहित उपलब्धिहरू सार्वजनिक गर्दैछन् । प्रधानमन्त्रीले औपचारिकताका लागि मेरा उपलब्धि यी हुन् भन्न लागे पनि यो एक वर्षमा गरेका काम र सरकारको कार्यशैली सार्वजनिक नै छन् ।
गत वर्ष फागुन ३ मा नेतृत्व सम्हाल्दै गर्दा प्रधानमन्त्री ओलीले सुशासन, विकास र समृद्धिमा मुख्य ध्यान हुने बताएका थिए । एक वर्षमा उनका कदम त्यसतर्फ कति अघि बढे त ? ‘जुन प्रतिबद्धतासहित उहाँ सरकारको नेतृत्वमा आउनुभएको थियो, त्यसअनुसार यो एक वर्षमा सर्वसाधारणले महसुस गर्ने खालको परिवर्तन आएन,’ राजनीतिशास्त्री प्राध्यापक लोकराज बरालको टिप्पणी छ, ‘सरकारले जनतालाई छुन सकेन, जनताले पाएको दु:खसास्तीमा कुनै परिवर्तन छैन ।’
यद्यपि कानुनको संरचनागत आधार तयार गर्न भने सरकारले यो अवधिमा केही भूमिका खेलेको उनको बुझाइ छ ।
मुलुक तीन तहको शासन संरचनामा गएकाले त्यसअनुसार कानुनी आधार तयार गर्नुपर्ने थियो । त्यसका लागि केही काम भएको उनले उल्लेख गरे । त्योबाहेक अन्य क्षेत्रमा दुई तिहाइ बहुमतको सरकारले गरेको कुनै काम सन्तोषजनक नभएको बरालले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया