कोरोना : तीन वर्षपछि वुहानमा फेरि ८ लाख मानिस घरमै कैद

१ बर्ष अगाडि

एजेन्सी - चीनमा फेरि कोरोना फैलिन थालेको छ । 

चीनको वुहानबाट उत्तरपश्चिमका धेरै सहरमा फेरि एकपटक कोरोनाका केसहरु देखा परेपछि लकडाउन लगाइएको छ । यी क्षेत्रका भवनहरु सिल गरिएको छ । चीनमा बिहीबार लगातार तेस्रो दिन एक हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

वुहान विश्वको पहिलो सहर हो । जहाँ कोरोनाको पहिलो केस फेला परेको थियो । त्यसपछि सन् २०१९ को अन्त्यमा यहाँ पहिलो लकडाउन लगाइएको थियो । 

यो साता वुहानमा २० देखि २५ नयाँ कोरोनाका केस दर्ता भएका छन् । पछिल्लो १४ दिनमा वुहानमा २४० जनामा कोरोना संक्रमण देखिएको छ। स्थानीय प्रशासनले जिल्लाका ८ लाखभन्दा बढी मानिसलाई अक्टोबर ३० सम्म घरभित्रै बस्न निर्देशन दिएको छ ।

सामाजिक सञ्जालमा भाइरल फोटो र पोस्टका अनुसार वुहानमा सुँगुरको मासु बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ। स्थानीय सुँगुरको मासु आपूर्ति शृंखलासँग जोडिएको कोरोनाको मामलाको कारणले यो कदम चालिएको हो । चीनको चौथो ठूलो सहर ग्वाङ्झाउ र यसको राजधानी ग्वाङ्डोङका धेरै क्षेत्र सिल गरिएको छ ।

यसबाहेक चीनका ड्याटोङलगायत अन्य धेरै ठूला सहरमा सरकारले कोरोनालाई ध्यानमा राख्दै सावधानी अपनाएको छ। बेइजिङको युनिभर्सल रिसोर्ट थिम पार्क बुधबार एक आगन्तुकमा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको छ ।

चीनले कोरोनालाई मध्यनजर गर्दै निकै कडा शून्य कोभिड नीति लागू गरेको छ। यो नीतिअन्तर्गत कुनै पनि ठाउँमा कोरोनाको केस पनि आएमा त्यो क्षेत्र पूर्ण रुपमा बन्द गरिएको छ । 

वुहानमा पहिलोपटक संक्रमण पुष्टि भएपछि राष्ट्रपति सी जिनपिङले यो नीति देशभर लागू गरेका थिए । तर, चीनको यो नीतिको आलोचना पनि भएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया