काठमाडौं - वर्षा लागेपछि विभिन्न सुरुवा रोगहरुको प्रकोप बढ्ने गर्दछ । केही वर्षदेखि नेपालमा देखापरेको डेंगी रोगको संक्रमण फेरि फैलिन थालेको छ । पछिल्लो समय दाङमा मनसुन शुरु भएसँगै डेंगी संक्रमण देखिन थालेको छ । पछिल्लो सरकारी तथ्यांकअनुसार दाङको घोराही र तुलसीपुरमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । सात पालिकामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । सरकारी र निजी क्षेत्रको समेत गरी कार्तिक पहिलो सातासम्म दाङमा २०८२ वैशाखसम्म एक हजार सात सय तीन जनामा डेंगी संक्रमण देखिएको छ । जेठमा पनि संक्रमित बढेको कार्यालयले बताएको छ । जेठ महिनाको रिपोर्ट कार्यालयले तयार पार्दैछ । बैशाखसम्मको रेकर्डअनुसार सबै भन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा सात सय ८८ र घोराही उपमहानगरपालिकामा चार सय ९१ जनामा डेंगी संक्रमण देखिएको छ । त्यसैगरी लमही नगरपालिकामा दुई सय ४८, बबई गाउँपालिकामा पाँच, राप्ती गाउँपालिकामा ८३, दंगीशरण गाउँपालिकामा १९, गढवा गाउँपालिकामा ६९ जनामा डेंगी संक्रमण देखिएको छ । राजपुर, शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिकामा भने विरामी नदेखिएको कार्यालयले जनाएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगीका विरामी उपचारका लागि आउने क्रम बढ्न थालेको छ । राप्ती प्रादेशिक अस्पतालमा डेंगी संक्रमणका विरामी बढ्न थालेको अस्पतालले जनाएको छ । मनसुन शुरु भएसँगै विरामी बढ्न थालेको अस्पतालका सूचना अधिकारी भुषण सुवेदीले जानकारी दिनुभयो । ‘वैशाखमा एकजना मात्रै संक्रमित भेटिएका थिए, त्यसयता पानी परेसँगै विरामी बढ्न थालेका छन्’– उहाँले भन्नुभयो– ‘झन असार लागेपछि विरामी बढ्दो क्रममा रहेको देखिन्छ ।’ त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि डेंगीका विरामी बढेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले दैनिक जसो डेंगीका विरामी देखिन थालेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९र०८० मा दाङमा समुदायमै डेंगी फैलिदा दुई हजार चार सय पाँचजना विरामी परेका थिए । त्यस वर्ष एकजनाको ज्यान पनि गएको थियो । आर्थिक वर्ष २०८०र०८१ मा करिब छ सयमा डेंगी संक्रमण भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । आर्थिक वर्ष ०७८र७९ मा दाङ जिल्लामा छ जनामा मात्रै डेंगी संक्रमण देखिएको त्यसको अघिल्लो वर्ष आर्थिक वर्ष ०७७र७८ मा नौजना पुरूष र छजना महिला गरी १५ जनामा डेंगी संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७६र०७७ मा ४१ जना पुरूष र ३० जना महिलामा गरी त्यस वर्ष दाङमा ७१ जनामा डेंगु संक्रमण देखिएको थियो । नयाँ युगबोधबाट साभार गरिएको हो ।
प्रतिक्रिया