काठमाडौं– कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण नेपालमा पहिलो मृत्यु पुष्टि भएको छ । इलामको सूर्योदय नगरपालिकाकी एक ५० वर्षीया महिलाको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मृतकलाई झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट थप उपचारका लागि नोबेल मेडिकल कलेजमा सोमबार भर्ना गरिएको थियो ।
अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो । तर अवस्था गम्भीर बन्दै गएपछि मंगलबार बिहान ६ बजे उनको मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार मृतकलाई कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएको थियो । उनी विगत सातादेखि बिरामी थिइन् । मृत्यु पश्चात शव परिवारले बुझिसकेको मोरङ प्रहरीले जनाएको छ ।
कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण दर पुनः बढ्दै गएको देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, झापा र इलाममा गरी हालसम्म ८ जनामा नयाँ भेरिएन्टको कोरोना पुष्टि भएको छ । तीमध्ये ४ जना झापामा, २ जना मोरङमा र १ जना इलाममा छन् । हालसम्म एक जनाको मृत्यु भइसकेको छ भने अन्यको उपचार भइरहेको छ । स्वास्थ्य अधिकारीहरूले जनस्वास्थ्यका मापदण्ड पालना गर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया