होला त हैदरावाद हाउसबाट अरुण तेस्रोको शिलान्याश ?

६ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत २३ देखि २५ गतेसम्म भारत भमणमा जान लागेका छन् ।
भ्रमणलाई राजनीतिक भन्दा पनि आर्थिक समृद्धिको पक्षमा पार्न अनेकन प्रयास गरिने सरकारको तयारी छ ।
विशेष गरी भ्रमणको क्रममा अरुण तेस्रो जलविद्युत् आयोजना र पञ्चेश्वर जलविद्युत् आयोजनाको बारेमा विशेष कुराकानी हुने तयारी गरिएको छ ।
अरुण तेस्रो भारतीय कम्पनी सतजलले निर्माण गर्न लागेको आयोजना हो । कूल ९ सय मेगावाट क्षमताको सो आयोजना निर्माणको चरणमा पुगेको छ ।
सतजल विद्युत् निगमकाअनुसार आयोजनाको ठेकेदार आयोजना स्थलमा परिचालित भइरहेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा नै सो आयोजनाको नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हैदरवाद हाउसबाट शिलान्याश गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै भ्रमणको क्रममा लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यिय आयोजनाको बारेमा समेत महत्वपूर्ण निर्णय लिइने बताइएको छ ।
विगत २३ वर्षदेखि चर्चामा मात्रै रहेको सो आयोजनालाई यस पटक मूर्त रुप दिने गरी तयारी गरिएको छ ।
जलविद्युत् र सिंचाईको समेत काम गर्ने गरी आयोजना निर्माण गर्ने भनिएपनि हालसम्म सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार हुन सकेको छैन ।
आयोजनाको विकासका लागि भन्दै विगतमा गरिएका प्रयास समेत साकार हुन सकेको छैन ।
डिपिआर बनाउने जिम्मा पाएको वापकोश इन्डियाले काम सम्पन्न गरेर सुझावका लागि नेपाल र भारत दुवै  देशलाई उपलब्ध गराएपनि हालसम्म अन्तिम टुंगो लागेको छैन । डिपिआरलाई अन्तिम रुप दिएर आयोजनाको लागत जुटाउने र निर्माण सुरु गर्ने लक्ष्यका साथ तयारी गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको मन्त्रिस्तरीय निर्णयका आधारमा केही एजेण्डा तय गरिएको छ ।
यस्तै लामो समयदेखि चर्चामा रहेको अन्तरदेशिय प्रसारण लाइन निर्माणको विषयमा समेत आवश्यक सहमति हुने अपेक्षा गरिएको छ ।
न्यू बुटवल गोरखपुर अन्तरदेशिय प्रसारण लाइन निर्माणको काम प्रमुख प्राथमिकतामा रहेका छन् । यसअघि निर्माण सम्पन्न भएको ढल्केबर– मुजफ्फपुर अन्त्रदेशिय प्रसारण लाइन निर्माणको काम सम्पन्न भएको र विद्युत् समेत आयात भइरहेको अवस्थामा नयाँ प्रसारण लाइन आवश्यक परेको हो ।
यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) सम्मेलनका क्रममा भएको सहमति अनुसार ग्रीड तथा प्रसारण प्रणालीको विकास तथा विस्तारका विषयमा समेत कुराकानी हुने अपेक्षा गरिएको छ ।
तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने नेपालको आर्थिक उन्नयन र समृद्धिमा नै प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित हुने बताएका छन् । उनले भारतले सद्भाव प्रकटीकरणस्वरुप कुनै ‘उल्लेख्य घोषणा’ गर्नसक्नेछ,’ उनले भने ।
 
    नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने जानकारी दिए ।
 
   भारतसँग सम्बन्ध सुमधुर र सुदृढ बनाउने यो उपयुक्त अवसर हो, –नेपाल र भारतमा लामो समयपछि स्थिर एवं सबल सरकार बनेका र नीतिगत तहमा हुने निर्णय कार्यान्वयनको कसीमा रुपान्तरण गर्न सहज हुने बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया