ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ भित्रै, लाभांश पनि पारित

शुक्रबार, २३ मंसिर २०७९, १२ : ५१

ग्लोबल आइएमई बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट बैंक अफ काठमाण्डू (बीओके)सँगको मर्जर प्रक्रियालाई स्वीकृत भएको छ। 

काठमाडौंको गैह्ररीधारास्थित सिल्भर ओक बैंक्वेज एन्ड इभेन्ट्स सेन्टरसमा भएको वार्षिक साधारणसभाले बीओकेसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरिएको हो । 

सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ। सभाले मर्जर प्रयोजनका लागि डीडीएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ। सभाले दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ। 

अबको १–५ दिनभित्रै राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति लिइने सभामा जानकारी दिइएको छ। त्यसपछि पुस १८ गतेदेखि पुस २५ गतेभित्र एकीकृत कारोबार सुरु गरिने जानकारी पनि सभामा दिइएको छ। 

सोही सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८–७९को मुनाफासमेतबाट चुक्तापुँजीको ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) स्वीकृत गरेको छ। सोही हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन भएको छ। 

सभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। 

शुक्रबार, २३ मंसिर २०७९, १२ : ५१

प्रतिक्रिया