काठमाडौँ- नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी बनाउने तयारी गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले छिमेकी देशले आफ्नै डिजिटल करेन्सी अगाडि सारेको र भारतको अभ्यास हेरेर राष्ट्र बैंकले पनि डिजिटल करेन्सीको विषयमा सोच बनाएको जानकारी दिएका छन् ।
उनले भने, ‘अब डिजिटल करेन्सीको विकल्प छैन, हामी सकारात्मक छौँ । भारतले राम्रो काम गरिरहेको छ । बंगलादेशले पनि सफलता पाइसकेको छ । अब हामीले पनि यस विषयमा सोच्नु पर्छ’, उनले भने ।
राष्ट्र बैंकको नीतिकै कारणले धेरै नेपालीले बिटक्वाइन तथा क्रिप्टोकरेन्सीमा लगानी नगरेर धेरैको पैसा बचेको उनले बताए ।
‘एक समय बिटक्वाइन तथा क्रिप्टोकरेन्सीको मूल्य धेरै बढ्यो । त्यस्ता अदृश्य करेन्सीहरूमा धेरैले लगानी गर्ने रुचि पनि राखेका थिए । नेपालमा पनि कानुनी मान्यता दिनुपर्छ भन्ने आवाज उठाए,’ उहाँले भन्नुभयो, ‘तर, हामीले गैरकानुनी क्षेत्रमा लगानी गर्नु हुँदैन भनेर पटक–पटक सर्वसाधारणलाई सजग गरायौँ । अहिले बिटक्वाइनको मूल्य धेरै घटेको छ । त्यतिखेर लगानी गरेको भए धेरै नेपालीको लगानी डुब्थ्यो ।’
प्रतिक्रिया