मर्जर र लाभांश प्रस्ताव सहित प्रिमियर इन्स्योरेन्सले बोलायो साधारण सभा, कहिले ?

शुक्रबार, ०८ पुस २०७९, १२ : २६

काठमाडौँ-  प्रिमियर इन्स्योरेन्स लिमिटेडले  लाभांश तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न पुस २९ गते, वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीले सिसारा रिसेप्सन भगवती वहाल नक्साल, काठमाडौंमा साधारण सभा बोलाएको हो । 
 
कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख रुपैयाँको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख रुपैयाँ बराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणले सुझाव अनुसार उक्त लाभांश संशोधन गर्दै १४.२५ प्रतिशत बोनस शेयर र कर प्रायोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश सहित प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीचको गाभ्ने गाभिने सम्बन्धी विषेश प्रस्ताव पारित गर्नेछ । दुबै कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बन्ने छ ।

लाभांश तथा साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २२ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस २१ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।


 

शुक्रबार, ०८ पुस २०७९, १२ : २६

प्रतिक्रिया