काठमाडौं महानगरपालिकाले सक्यो भत्ता, सुविधा र भ्रमणमा ९ करोड

विहीबार, ०९ फागुन २०७५, ०७ : १८

काठमाडौं– काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि पाएको झन्डै दुई वर्ष पुग्नै लाग्दा पनि महानगरवासीले राहतको  अनुभूति गर्न सकेका छैनन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

सर्वसाधारणले धुलोधुँवाका कारण निम्तिएका वातावरणीय समस्या, बेहाल सडक, अव्यवस्थित बसोबासका कारण सास्ती भोगिरहेका छन् । 

ट्राफिक जाम, पार्किङ अभाव, ढल, खानेपानी, सार्वजनिक शौचालय अभाव जस्ता न्यूनतम सेवासुविधा महानगरवासीले नपाए पनि महानगरको नेतृत्वले भने समस्या समाधानमा चासो देखाएको पाइँदैन ।

नगरवासीका सेवा, सुविधा र विकास निर्माणको क्षेत्रमा ध्यान नदिए पनि सेवा, सुविधा र भत्ता लिने काममा भने महानगरका जनप्रतिनिधि अगाडि देखिएका छन् । चालू आर्थिक वर्ष २०७५–०७६ का लागि १२ अर्ब ४ करोड ११ लाख ५७ हजार विनियोजन गरेको काठमाडौं महानगरपालिकाले ६ महिने अवधिमा ११ प्रतिशत मात्रै बजेट विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा खर्च गर्न सकेको छ । 

तर, सेवा, सुविधा र भत्ताको नाममा भने करोडौं रकम खर्च भएको छ । महानगरले विनियोजित बजेटबाट पुस मसान्तसम्ममा जनप्रतिनिधिका सेवा, सुविधा र भत्ताका मात्र ८ करोड ७० लाख ७६ हजार ७ सय ४१ रुपैयाँ खर्च गरेको छ । 

विहीबार, ०९ फागुन २०७५, ०७ : १८

प्रतिक्रिया