नेपालगञ्ज/ बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र सङ्घीय राजधानी काठमाडौंका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् ।
जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लाहरूलगायत राजधानीका लागि कुनै पनि उडान नभएको विमानस्थलले जनाएको छ ।
कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझाङका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा दिउँसो २ बजेसम्मका सबै उडान रद्द गरिएको विमानस्थल टावरका अफिसर महेन्द्र बहादुर सिंहले बताउनुभयो ।
मंगलबार बिहानैदेखि ६ सय मिटर मात्र भिजिबिलिटी रहेकाले पहाडी जिल्लाहरूका सबै उडान रद्द गर्नुका साथै राजधानीका पनि हालसम्मका सबै उडान रद्द गरिएको उनले बताए ।
नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० वटा र काठमाडौँका लागि १५ वटासम्म उडान हुने गरेका छन् । यहाँबाट काठमाडौं, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गरेको छ ।
प्रतिक्रिया