सहकारीमा महिलाको सक्रियता बढ्दै

१ बर्ष अगाडि

धनगढी / धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत सङ्कलन गर्न घरबाट निस्किन सधैँ हतारो हुन्छ । बचत सङ्कलनमा हिँड्नुपर्ने उनको दैनिकी हो । दैनिक तीन सयभन्दा बढी बचतकर्ताको रकम असुल्नु पर्दा हुने दौडधुपले उनलाई कामको बढी चाप हुन्छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कैलालीमा कार्यरत उनले भनिन्, “तोकिएको ठाउँ ठाउँमा पुगेर बचत सङ्कलन गर्नुपर्छ, न्यूनतम पारिश्रमिकका अलावा बचत सङ्कलन गरेबापत कमिसन पनि पाउँछौँ ।” 

धनगढीकै तारा चौधरीले पनि बचतकर्ताको घरसम्मै पुगेर बचत सङ्कलन गर्छिन् । सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्थासँग जोडिएकी उनले भनिन्, “बचत सङ्कलनको काममा आफूसहित नौ महिलाले काम पाएका छौँ, आफ्नो कामबाट सन्तुष्ट छौँ ।” गाउँटोलमा धमाधम खुलिरहेका सहकारी संस्थाले गरिरहेको बचत सङ्कलनमा धेरै युवती र महिला जोडिएर काम गर्न पाउँदा रोजगार र स्वरोजगारका अवसर सिर्जना भइरहेको छ । प्रायः सबै सहकारीले बचत सङ्कलनको जिम्मेवारी महिलालाई दिनेगरेको देखिन्छ । “काममा लगनशील र इमान्दार हुन्छन् भन्ने बुझाइले बचत सङ्कलनको जिम्मेवारी महिलालाई दिएको हुनसक्छ”, अनिताले भनिन्, “यस्तो कामको जिम्मेवारी पाउँदा धेरै महिलाले रोजगारी पनि पाइरहेका छन् ।” 

बचत सङ्कलन गर्ने महिलाले सम्बन्धित सहकारी संस्थाबाट न्यूनतम् पारिश्रमिकका अलावा सङ्कलित रकमबाट तोकिएको ‘कमिसन’ समेत पाउने गरेका छन् । बचत सङ्कलन गरी बिनाकुनै झण्झट सहकारीका सदस्यमा ऋण लगानी गरिरहेका सहकारी संस्थाको गतिविधिबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगार र स्वरोजगारका अवसर सिर्जना भइरहेको सहकारी आन्दोलनका अगुवाको अनुभव छ । 

महिला समूहमा मानोमुठी सङ्कलन गरेर १९ वर्ष अघि स्थापना गरिएको कैलालीको गोदावरी नगरपालिकाको जमुनानगरस्थित सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा तीन हजारभन्दा बढी महिला शेयर सदस्य पुगेका छन् । महिला शेयर सदस्यले गरिरहेको आयमूलक व्यवसायबाट आयआर्जन गर्न उनीहरू सफल छन् । संस्थाका अध्यक्ष भावना खड्काले भनिन्, “सहकारीकै गतिविधिको कारण धेरै महिलाको नेतृत्व क्षमताको विकास भएको छ, आयआर्जन गर्न पनि आफैँ सक्षम भइरहेका छन् ।” 

महिलामात्र सदस्य रहेको उक्त संस्थाले दश जना महिलालाई रोजगारी दिएको छ । कृषि, व्यापार व्यवसायलगायतका क्षेत्रमा ऋण प्रवाह गरिरहेको संस्थाले कारोबारको आधारमा राष्ट्रिय सहकारी बैंकबाट हालै उत्कृष्ट सहकारीको रुपमा पुरस्कार पाएको छ । महिलाले नेतृत्व गरेको सहकारीका गतिविधि तुलनात्मक रुपमा बढी सफल भइरहेको धेरैको अनुभव छ । उक्त संस्थाकी संस्थापक गौरी चौधरीले महिला काममा लगनशील र मेहनती हुँदा सफलता मिलेको अनुभव सुनाइन् । 
उक्त संस्थामा अहिलेसम्म शेयर पुँजी रु दुई करोड ६६ लाख २५ हजार पुगेको छ । लगानीमा रहिरहेको रकम रु १९ करोड २५ लाख ३८ हजार पुगेको छ । सदस्यको बचत रकम रु १२ करोड ७२ लाख तीन हजार छ । सहकारीका सदस्यले व्यावसायिकरुपमा कृषितर्फ तरकारी खेती, बङ्गुर, बाख्रा, भैँसीपालनका साथै खुद्रा व्यापार व्यवसाय, ब्युटीपार्लर, सिलाइकटाइका काम गरिरहेका छन् । 

पहिले निरक्षर भएका महिला सहकारी संस्थाले गरेका गतिविधिसँगै अहिले साक्षर बनेर समाजको नेतृत्वदायी भूमिकामा पुगेको चौधरीको अनुभव छ । दुई दशक अघिसम्म चौध पन्ध्र सहकारी संस्था रहेको कैलालीमा हाल छ सयभन्दा बढी पुगेको तथ्याङ्क छ । सहकारीको गतिविधिबाट सदस्यले आयआर्जन गरेको देखिएपछि सर्वसाधारण किसान मात्र नभई विस्तारै राजनीतिक नेता कार्यकर्ता पनि सहकारी संस्थामा आकर्षित हुन थालेको पाइन्छ ।

नवजीवन सहकारी संस्था लिमिटेड धनगढीका महाप्रबन्धक डम्मरसिंह गुरु  ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सहकारीको सिद्धान्तबमोजिम यसमा जनताको अपनत्व र अधिकार समान हुने भएकाले सहकारीप्रति आकर्षण बढेको बताए । “यसले रोजगारीको सिर्जना सँगसँगै गाउँगाउँमा नागरिकमा वित्तीय साक्षरता बढाएको छ”, उनले भने, “देशको अर्थतन्त्रमाथि उठाउनमा योगदान दिइरहेको सहकारी आन्दोलनलाई निरन्तर नियमन र अनुगमन गर्न भने जरुरी छ ।” 

१ बर्ष अगाडि

प्रतिक्रिया