अघि बढ्यो काठमाडौं केरुङ रेलमार्गको विस्तृत अध्ययन

१ बर्ष अगाडि

 

काठमाडौं /  कोभिड–१९ का कारण रोकिएको प्रस्तावित काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन शुरू भएको छ । गतसाता चीनबाट ६ जना इन्जिनीयरको टोली आएसँगै यो रेलमार्गको अध्ययन शुरू भएको रेल विभागले जानकारी गराएको छ ।चीनसँगको पारवहनलाई रेलमार्गबाट जोड्न नेपाल र चीन सरकारबीच उक्त रेलमार्गको  विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउन २०७६ असोजमा समझदारी भएको थियो । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने २०७५ मै सम्पन्न भइसकेको छ । त्यही प्रतिवेदनलाई आधार मानेर अहिले आएको चिनियाँ टोलीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने विभागका महानिर्देशक रोहितकुमार विसुरालले बताए । 

चाइना रेलवे फस्र्ट इन्जिनीयरिङ सर्भे एन्ड डिजाइन ग्रूप अफ कम्पनीका इन्जिनीयरहरू आएका हुन् । अध्ययन टोलीले यो अन्तरदेशीय रेलमार्गको अध्ययन गरेर ४२ महिनापछि प्रतिवेदन बुझाउनेछ । तत्कालीन समयमा गरिएको पूर्व सम्भाव्यता अध्ययनले देखाएको सम्भावना, लम्बाइ, सुरुङमार्ग, कस्ता खालका पुल बन्छन् भन्ने जस्ता विषयमा पुनरवलोकन गरेर अहिलेको टोलीले विस्तृत अध्ययनको प्रतिवेदन बुझाउने उनको भनाइ छ । 

अबको अध्ययनले लगानीको विषय पनि यकीन गर्नेछ । यो रेलमार्गमा ९८ प्रतिशत सुरुङमार्ग हुने प्रक्षेपण र अन्य संरचना पनि महँगो पर्ने भएकाले नेपालले लगानी जुटाउन भने चुनौतीपूर्ण हुने सरोकारवालाले बताउँदै आएका छन् । अहिलेको अध्ययन भने चीनले नै अनुदानमा गरिदिँदै छ । ५ वर्षअघि सम्झौता हुँदा आयोजनाको अध्ययनका लागि मात्रै १८० दशमलव ४७ युआन (चिनियाँ मुद्रा) विनियोजन गरिएको थियो । चिनियाँ सरकारले नै गरिदिएको पूर्वसम्भाव्यता अध्ययनले यो अन्तरदेशीय रेलमार्ग बनाउन सकिने प्रक्षेपण सहित लगानी र दूरीलगायत विषयसहितको प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको थियो । त्यसबेलाको प्रारम्भिक सम्भाव्यता अध्ययन अनुसार यो रेलमार्गको कुल लागत २ खर्ब ५७ अर्ब रुपैयाँ प्रक्षेपण गरिएको थियो । विभागले यही कुल लागतलाई हिसाब गरेर वार्षिक २८ अर्ब ५५ करोड लगानी गरेमा ९ वर्षमा रेलमार्ग बनाउन सकिने अनुमान गरेको थियो ।

उक्त अध्ययनले यो रेलमार्गको दूरी ७२ दशमलव २५ किलोमीटर हुने उल्लेख गरेको थियो । काठमाडौं–केरुङ रेलमार्ग उच्च पहाडी तथा पहाडी भूगोल हुँदै निर्माण गर्नुपर्ने र भौगोलिक अवस्थितिले चुनौतीपूर्ण भए पनि निर्माण असम्भव नभएको पूर्वसम्भाव्यता अध्ययनले देखाएको थियो । उक्त अध्ययनमा उच्च प्रविधिको प्रयोगबाट रेलवे निर्माण सम्भव रहेको उल्लेख गरिएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया