ajako artha
काठमाडौँ - ललितपुरको बङ्गलामुखीमा पूजा पसल सञ्चालन गर्दै आइरहेकी सरिता मगरलाई व्यापार हुन छाडेपछि चिन्तित बनाएको छ । लकडाउनअघि पूजा पसलको व्यापारले नै ५ जनाको परिवार धानेकी सरिता व्यापार हुन छाडेपछि थप पिरोलिन थालेकी हुन् ।
घरायसी कामधन्दाले सधैँ पसल खोल्न नभ्याउने उनी पसल खोलेको दिन कहिले काहीँ त बोनी नै नहुने बताउँछिन् । महिनामा मुस्किलले ४ हजार नाफा गर्ने गरेको बताउने उनी ५ जनाको परिवार पाल्न धौ धौ परेको बताउँछिन् । लकडाउन पछि क्याटरिङ सर्भिसको काम थालेकाले बल्ल बल्ल परिवार पालिने उनको भनाई छ ।
महँगीले गर्दा पनि मानिसहरू सामान किन्न नआउने गरेको सरिताको बुझाई छ । आफ्नै सटर भएकाले मात्र पूजा पसल गरेकी उनी क्याटरिङको काम आएको दिन बाहिर जान्छिन् । बालबच्चा सानै भएकाले उनी स्कुल पठाउन खाना बनाएर खुवाउनमै उनको समय खर्चिन्छ ।
सरिताको श्रीमान् मलेसियामा छन् । लकडाउन पछि खान लाउनमा पनि समस्या भएपछि सरिताकै आग्रहमा उनका श्रीमान परदेश छिरेका हुन् । घर बनाउँदाको ऋण र बालबच्चाको स्कुल फिस तिर्न नसकेपछि श्रीमानलाई विदेश पठाएको सरिता बताउँछिन् ।
पहिलाको जस्तो मन्दिरमा मानिसहरूको भीड नहुने उनी बताउँछिन् । ‘मान्छेहरू धर्मकर्म गर्ने छाडे कि मन्दिरमा भिडभाड पनि हुँदैन’,उनले ठट्यौली पारमा हाँस्दै भनिन् । फलफूल,फूलहरू किनेर ल्यायो कोही किन्दैन त्यत्तिकै बिग्रेर जान्छ’,उनले भनिन् । फूल र फलफूल बिग्रने कारणले उनले अहिले फूल,फलफूल दुवै बेच्न छाडेकी छिन् । मन्दिरमा जाने दर्शनार्थीका लागि बेच्ने गरेको पूजा प्याकेजभन्दा अलावा उनले फूल बच्ने गरेकी छैनन् ।
‘महिनामा मुस्किलले ४ हजार नाफा गर्छु क्याटरिङबाट आएको दिन राम्रै बस्छ यहीबाट आएको पैसाले मेरो परिवार धानेको छ’,उनले भनिन् । उनी श्रीमानले पठाएको पैसा घर बनाउँदाको ऋण तिर्दैमा ठिक्क हुने बताउँछिन् ।
सरिता मात्र महँगीले पिरोलेकी छैनन् । उनी जस्ता सयौँ मज्यौला व्यापारीहरू महँगी र शून्य व्यापारले चिन्तित बनेका छन् ।
प्रतिक्रिया