विमान दुर्घटनामा पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन

मंगलबार, ०३ माघ २०७९, ०८ : ४४

काठमाडौं / नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा माघ १ गते आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको छ।

काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार महासंघले जनाएको छ।  ‘‘नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र शोकमग्न भएको छ । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले कुशल पत्रकार नेता गुमाएको छ’’ महासंघले शोक विज्ञप्तिमार्फत जनाएको छ।


पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य थिए। २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एक पटक उपाध्यक्ष र दुई पटक सचिवका रूपमा रही योगदान दिएका थिए।

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा काम गरेका थिए।

विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक-सम्पादकका रूपमा कार्यरत थिए। स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन्।

यसैबीच नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक बसेर पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघका शाखा कार्यलयहरुले माघ २ गते मैन वत्ति बालेर शोक मनाएका छन् । 

जसअन्तर्गत  २०७९ माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं  १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ।

मंगलबार, ०३ माघ २०७९, ०८ : ४४

प्रतिक्रिया