विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बिमा सर्भेयर र कानुन व्यवसायीहरूको टोली नेपाल आइपुग्यो

मंगलबार, ०३ माघ २०७९, १२ : ५९

काठमाडौँ-  आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बिमा सर्भेयर र कानुन व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ ।

 क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्नका लागि सर्भेयर टोली सिंगापुर र कानुन व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए ।

बिमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिंगापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ । दुर्घटनामा परेका यात्रुको बिमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए । “बिमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बिमा गरेको हुन्छ । पुनर्बिमाबाट पैसा आएपछि बिमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बिमा रकम भुक्तानी हुन्छ,” उनले भने ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बिमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । बिमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि चासो राखेको उनको भनाइ छ ।

“राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बिमा भुक्तानीबारे चासो राखेको थियो । बिमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौंबाट रिपोर्ट लिन सकिने भनिएको छ । दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौं,” प्रवक्ता पौडेलले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको २० हजार अमेरिकी डलर बराबरको बिमा गरिएको हुन्छ । चालक दलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ । आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।

पोष्टमार्टमका लागि विशेषज्ञ टोली

आइतबार पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु गर्ने तयारी भएको छ । शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमार्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए । पोष्टमार्टमका लागि गठित विशेषज्ञ टोलीमा काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन् । दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ । एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ ।

पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ । पोष्टमार्टमपछि शव बुझ्न दिवंगतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

मंगलबार, ०३ माघ २०७९, १२ : ५९

प्रतिक्रिया