काठमाडौँ- सेयर सदस्यलाई उत्पादनमा योगदान र स्वरोजगार बनाउन बाराको सिमरा महिला साकोसले व्यावसायिक क्षेत्रमा दक्ष बनाउने अभियानलाई निरन्तर दिँदै आएको छ ।
पछिल्लो समय बजारमा बढ्दो प्रयोग हुन थालेको मखमलको जुत्ताको उत्पादनमा दुई दर्जन सदस्यलाई तालिममार्फत दक्ष बनाएपछि सिमरा महिला साकोसले अभियानलाई निरन्तरता दिएको हो ।
यसअघि दर्जनौ सदस्यलाई च्याउ खेती, क्रिस्टलका गहना बनाउने लगायतका उत्पादनमुखी तालिम दिएर व्यावसायिक बनाउँदै आएको संस्थाले मखमल जुत्ताको प्रयोग हरेक उमेर समुहले विभिन्न अवसरमा प्रयोग गर्नेको संख्या बढेको देखेर २१ जना सदस्यलाई मखमलको जुत्ता बनाउन दक्ष जनशक्ति तयार बनाएको छ । सो जनशक्तिलाई आफैं उत्पादन र बिक्री गर्न सक्ने गरी तयार बनाइएको संस्थाले जनाएको छ ।
जीतपुर सिमरा उपमहानगरको वडा नं १, २, ३, ४ का महिला सदस्य संस्थाले गर्ने उद्यमका कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् । शनिबार सम्पन्न जुत्ताको तालिममा सहभागी जीतपुर सिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य धनबहादुर श्रेष्ठले सिमरा महिला साकोसबाट हुँदै आएको सदस्य केन्द्रित उत्पादनमुखी अभियानले सहकारीको दीर्घकालीन यात्रामा सघाउ पुग्ने आधार रहेको बताए ।
संस्थाका सदस्यले उत्पालन गरेको च्याउ खेती, क्रिस्टलको गहना लगायतका उत्पादन स्थानीय बजारमै खपत भइरहेको बताउँदै जितपुर सिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले समाजमा प्रयोग बढ्दै गएको मखमलको जुत्ताको समेत स्थानीय दुई ठूला बजार सिमरा, जितपुरमा खपत हुने बताए ।
उनले जिल्ला अन्य बजारमा माग बढ्ने अनुमान गर्दै यसअघि अन्यत्र स्थानबाट जिल्लामा आयात कम हुँदै मखमलको जुत्ताले ब्यापकता पाउने बताए । करीब १८ सय महिला सदस्यबीच १४ करोडको कारोबार गर्दै आएको सिमरा महिला साकोस जिल्लामै सफल सहकारीको रुपमा संचालित रहेको छ ।
प्रतिक्रिया