काठमाडौँ- स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिका ११ सुम्रेखोलाको शित भण्डारमा राखिएका सुन्तला कुहिन थालेका छन् ।
सुन्तला राखेको करिब डेढ महिना पनि नपुग्दै सुन्तला बिग्रन थालेपछि स्थानीय कृषक चिन्तित भएका हुन् । बेमौसममा राम्रो आम्दानी लिन सकिने जनाउँदै स्थानीय कृषकले सुन्तला शीत भण्डारण गरेका थिए ।
चालु वर्षको मंसिर १४ गते पहिलो चरणमा राखिएका सुन्तलामध्ये एक प्रतिशत सुन्तला बिग्रिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए । गत वर्ष पनि २० टन सुन्तला भण्डारण गरिएकोमा झण्डै आधाजसो सुन्तला कुहिएका थिए । विगतका वर्षमा भन्दा झण्डै तेब्बर मात्रामा सुन्तला फलेका र भण्डारण गर्ने समेत ब्यवस्था भएकाले स्थानीय कृषकले १ सय ६० मेट्रिक टन सुन्तला भण्डारण गरेका थिए ।
भण्डारण गरिएका सुन्तलामध्ये एक क्विन्टल सुन्तला बिग्रेको देखिएको हमालले बताए । बिग्रेका सुन्तलालाई छुट्टाएर फाल्ने काम भैरहेको छ । शीत भण्डारणमा राख्नु पूर्व सुन्तला कृषकलाई सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, क्रेटमा मिलाएर भर्ने र आवश्यकता अनुरुप सफालगायतका विविध कार्य गर्न सुझाएको प्रमुख हमाल बताए ।
सुन्तला बिग्रन थालेपछि सुन्तला बाली अनुसन्धान केन्द्र ९नार्क० धनकुटाका विशेषज्ञ डा। उमेश आचार्यसहितको प्राविधिक टोली स्थलगत अनुसन्धान गरेको थियो । अनुसन्धान टोलीले सुन्तला व्यवस्थापनमा कमजोरी देखाएको छ । फल टिप्दा, भण्डारण गृहसम्म ल्याउँदा र भण्डारणमा राख्दा विशेष सुरक्षासहित ध्यान दिन पर्नेमा सो नपुगेका कारण फल बिग्रन थालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ ।
स्याङ्जामा चालु वर्ष झण्डै सवा अर्ब मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा चालु वर्ष ३० देखि ४० प्रतिशत भन्दा बढी उत्पादन भएको अनुमान छ । जिल्लामा फलेका ७५ प्रतिशत सुन्तला बगैंचाबाट निकासी भएको छ ।
प्रतिक्रिया