स्याङ्जामा चार क्रसर उद्योग बन्द

शुक्रबार, ०६ माघ २०७९, १२ : ४१

काठमाडौँ-  स्याङ्जा प्रशासनले जिल्लाका विभिन्न भागमा सञ्चालित चारवटा बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ ।

 स्याङ्जास्थित सर्वदलीय बैठकले अवैध तथा नवीकरण नगरी सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा जारी निर्देशन अनुरुप जिल्लास्थित सबै राजनीतिक दलको संयुक्त बैठ बसी सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारी दिए । बन्द गरिनेमा भीरकोटका २ वटा, गल्याङ् र वालिङमा सञ्चालित एक–एक वटा क्रसर उद्योग रहेका छन् । सर्वदलीय बैठकमा भएको निर्णयअनुसार उद्योगलाई बन्द गर्न आग्रह गरिसकिएको प्रशासनले जनाएको छ ।

भीरकोटस्थित छाङ्छाङ्दी र खिलुङ्कालिका, गल्याङ्स्थित गह्रौंकालिका र वालिङ्स्थित आँधीखोला क्रसर उद्योग बन्द गरिएका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । स्याङ्जाका १० वटा क्रसर उद्योगमध्ये हाल चारवटा बन्द गर्ने निर्णय भएको र यसअघि नै दुईवटा उद्योग सञ्चालनमा नरहेको प्रजिअ क्षेत्रीले जानकारी दिए ।

शुक्रबार, ०६ माघ २०७९, १२ : ४१

प्रतिक्रिया